रसुवागढीमा सुक्खा बन्दरगाह बन्ने
काठमाडौँ, २७ चैत । चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा रसुवागढीमा सुक्खा बन्दरगाह निर्माण गरिनेभएको छ । छ हजार नौ सय वर्गमिटर क्षेत्रफलमा निर्माण गरिने उक्त बन्दरगाहमा एकीकृत जाँच चौकी, सामान भण्डारण गृह, ढुवानीका सवारी साधन ‘पार्किङ’ स्थल, बाढी नियन्त्रणका लागि नदी किनारका दुवैतर्फ पर्खाल निर्माण र मालसामान जाँचका निम्ति उपकरणको व्यवस्था गरिनेछ ।
त्यसैगरी चीन सरकारको प्राविधिक सहयोगमा नेपाल सरकारको दीर्घकालीन कृषि विकास योजना कार्यान्वयन गर्न उच्च प्रतिफल दिने मिश्रित जातको विकासे धान उत्पादन एवम् अनुसन्धान कार्यक्रम कार्यान्वयन गरिनेभएको छ । नेपालको उपयुक्त जलवायुयुक्त स्थानमा उक्त जातको धान उत्पादनको प्रदर्शनीसमेत चिनियाँ प्राविधिले गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।सुक्खा बन्दरगाह निर्माण तथा दीर्घकालीन कृषि विकास योजना कार्यान्वयनसम्बन्धी नेपाल र चीन सरकारबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि चीनका राजदूत वु चुन्ताई र अर्थसचिव सुमनप्रसाद शर्माले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।
त्यस अवसरमा सचिव शर्माले नेपालको सामाजिक–आर्थिक विकासमा चीन सरकारबाट निरन्तर रुपमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै सुक्खा बन्दरगाह निर्माणबाट चीनसँगको व्यापार घाटा कम गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत वुले चीनले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताउँदै आज सम्पन्न द्विपक्षीय सम्झौताबाट कृषिको विकासका साथै नेपालको व्यापार सहजीकरण र पारस्परिक आर्थिक एवम् व्यापारिक सम्बन्ध विस्तारमा बल पुग्ने आशा व्यक्त गर्नुभयो । – रासस