‘प्याक्ट’ भ्रष्टाचारको दलदलमा

२०७१ चैत्र २८ गते, शनिबार

काठमाडौँ । व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) भ्रष्टाचारको दलदलमा फसेको प्याक्ट सम्बद्ध कर्मचारीहरुले बताएका छन् । प्याक्टका निर्देशक योगेन्द्रकुमार कार्की कृषि मन्त्रालयमा सरुवा भएपछि उक्त पदमा नियुक्ति पाएका नवनियुक्त आयोजना निर्देशक डा. इन्द्रकान्त झाको कार्यशैलीका कारण प्याक्ट भ्रष्टाचारको दलदलमा फस्न लागेको आयोजना सम्बद्ध कर्मचारीहरुले गुनासो गरेका छन् । विश्वबैंकको लगानीमा नेपालमा सञ्चालन भएका धेरैवटा आयोजनामा काम गरेको अनुभव सुनाउँदै कार्यभार सम्हालेका झा अहिले कार्यालयमा जङ्गी शासन चलाउँदै भ्रष्टाचार गर्न तल्लिन रहेको सम्बद्ध कर्मचारीको भनाइ छ । झा आयोजना प्रमुख भएर आएपछि अहिले कार्यालयको सबै कार्य लथालिङ्ग भएको छ । निर्देशकको विश्वासपात्र कर्मचारीलाई मात्र कामको जिम्मा दिइएको छ । कार्यालयको दैनिकी नै अहिले लथालिङ्ग र भताभुङ्ग भएको छ । सेवाग्राहीहरुको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ भन्दै एक कर्मचारी गुनासो गर्छन्, अहिलेसम्म यस कार्यालय (प्याक्ट) मा काम गर्दा यति असहज र अपमानित कहिल्यै हुनुपरेको थिएन तर झा निर्देशक भएर आएपछि कार्यालयको सबै काम चौपट भएको छ, हरेक कर्मचारी अपहेलित, अपमानित र असहज महसुस गरिरहेका छन् भन्दै यसो हुनुमा निर्देशक झाको भ्रष्टाचार गर्ने नियत नै प्रमुख भएको उनको ठम्याई छ ।
प्याक्टको निर्देशक सम्हालेलगत्तै झाले हरेक कार्यमा अंकुश लगाउँदै भ्रष्टाचार गर्ने नियतका साथ काम गर्न कर्मचारीलाई बाध्य पारेको स्रोतले बताएको छ । झाले निर्देशकको पद सम्हालेसँगै अहिले यस वर्षको सबै बजेट सकिएको सेवाग्राहीलाई जानकारी गराउन सबै कर्मचारीलाई उर्दी गरेका छन् । आयोजनामा सेवा लिन पुगेका हरेक सेवाग्राहीलाई यस वर्षको बजेट सकिएको र अब आगामी आर्थिक वर्ष लागेपछि सम्पर्क गर्नु भन्दै रित्तो हात फर्काउने गरेको स्रोतले बताएको छ । प्याक्टमा अहिले सेवाग्राहीले कुनै सेवा पाएका छैनन् । आयोजनामा अहिले गाडी मर्मत, सम्भार, इन्धन, कार्यालय मर्मत र विभिन्न खरिद गरेका फर्जी बिल मात्र बन्ने गरेका छन् । निर्देशक झाले आपूmले आयोजना निर्देशक बन्न केही लगानी गर्नुपरेको र मन्त्रालयदेखि दलका नेतासम्मलाई केही आर्थिक सहयोग गर्नुपर्ने भएकाले बिल मिलाउन आवश्यक भएको भन्दै कर्मचारीलाई फर्जी बिलमा भुक्तानी गर्न बाध्य पारेको स्रोतले बताएको छ । झा विगतमा एभियन इन्फ्ल्युएञ्जा नियन्त्रण आयोजनाको निर्देशक हुँदासमेत झाले व्यापक आर्थिक अनियमितता गरेको चर्चा चल्ने गरेको थियो । झाले बर्डफ्लू रोगको रोगथाम र नियन्त्रणको नाममा लाखौँ भ्रष्टाचार गरेको चर्चा त्यतिबेला पनि चलेको स्रोतको दाबी छ ।
प्याक्टको निर्देशक डा. इन्द्रकान्त झाले आयोजना नै लथालिङ्ग हुने गरी अनियमितता गर्ने खेल खेलेपछि त्यहाँ कार्यरत कर्मचारी उनको विरुद्ध एकजुट हुन थालेको स्रोतले बताएको छ । स्रोतका अनुसार निकट भविष्यमा नै आयोजना सम्बद्ध कर्मचारीले निर्देशक झाले आयोजनामा गरेको बद्मासीको सार्वजनिक गर्ने अठोट गरेका छन् । हामी पनि प्याक्टमा भए गरेका अनियमित कामकारवाहीको निरन्तर खोजबिनमा लागिरहने छौँ ।

प्रतिक्रियाहरु

[anycomment]