एमालेमा भाडभैलो
काठमाडौँ । एमाले स्थायी कमिटीको कार्य विभाजनसम्बन्धी निर्णय र पार्टीको बैठक अध्यक्षको घरमा बोलाउने बिषय लिएर भाँडभैलो मच्चिएको छ । सो सम्बन्धमा एमालेमा तीनजना पदाधिकारीले विहीबार लिखित असहमति जनाएका छन् । स्थायी कमिटीले केही दिनअघि गरेको केन्द्रीय सदस्यहरुको कार्य विभाजनप्रति असहमति जनाउँदै उपाध्यक्ष युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईले नोट अफ डिसेन्ट लेखेका हुन् । केन्द्रीय सचिवालयमा दर्ता गरिएको लिखित असहमतिमा पार्टीलाई एकलौटी ढंगले गुटगत आधारमा चलाउन खोजिएकाले कार्य विभाजनको निर्णयमा असहमति रहेको उल्लेख छ । ‘स्थायी कमिटीको यो निर्णयले पार्टीका सबै कमिटीमा लागू गर्ने हो भने जसको लाठी, उसैको भैँसी’ नै हाम्रो साङ्गठानिक सिद्धान्त बन्न जान्छ र पार्टीमा आम अराजकता उत्पन्न हुन्छ ।’ लिखित असहमतिमा भनिएको छ । उनीहरुले पार्टीका बैठक अब नेताका घरमा होइन, पार्टी कार्यालयमा बस्नुपर्ने लिखित धारणा समेत दर्ज गराएका छन् । त्यहाँ भनिएको छ– पार्टी कमिटीका औपचारिक बैठकहरु निजी घरमा राख्नु उपयुक्त हुँदैन, एमालेका सबै कमिटीका प्रमुखहरुले वा तीनका इन्चार्ज वा प्रमुखले निजी घरमा बैठक बोलाउन थाले भने के हुन्छ ? कार्य विभाजनको निर्णय गर्ने बैठक अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको थियो । त्यसबेला ओली अस्वस्थ भएर बाहिर निस्किएका थिएनन् । एक साताअघि नै कार्य विभाजनको निर्णय भए पनि बैठकको माइन्युट उतार्न ढीला भएकाले विहीबारमात्रै नोट अफ डिसेन्ट लेखिएको उपमहासचिव घनश्याम भुसालले बताए । तीन पदाधिकारीको लिखित असहमति भने उपाध्यक्ष युवराज्ञ ज्ञवालीको हस्ताक्षरमा दर्ता भएको छ ।