गैंडा गणना सुरु
काठमाडौँ । विश्व मै दुर्लभ मानिएको एक सिंगे गैंडाको गणना चितवनबाट सुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले शनिबार बिहान पर्सा वन्यजन्तु आरक्षको रमौली प्रतापपुरबाट गैंडा गणना सुरु गरेका हो । गैंडा गणकलाई टिका लगाएर गैंडा गणनाको उदघाटन गर्दै वन तथा भुसंरक्षण मन्त्री महेश आचार्यले दुर्लभ एक सिंगे गैंडाको सुरक्षा र संरक्षणका लागि गणना प्रभावकारी हुने बताए ।
वन विभाग र राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष र विश्व वन्यजन्तु कोषको आर्थिक एवं प्राविधिक सहयोगमा गैंडा गणना सुरु गरिएको चितवन राष्टिय निकुञ्जका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले बताए । यसमा जिल्ला स्तरका अन्य सरोकारवाला निकायको पनि सहयोग रहेको सहायक संरक्षण अधिकृत थपलियाले बताए । गणनाका लागि चितवन राष्ट्रिय निकुञ्जका २८, पर्सा वन्यजन्तु आरक्षको ४ तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई गरी ३४ वटा हात्ती परिचालन गरिएको थपलियाले बताए । गैंडा गणनामा ४० जना गणक परिचालन गरिएको छ ।
उनीहरु विभिन्न १० स्थानमा क्याम्प बनाएर बसेका छन् । गणनालाई सजिलो बनाउन निकुञ्जलाई १९ वटा ब्लकमा विभाजन गरिएको छ । गणनाका लागि ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । नेपालमा सन् १९९४ देखि प्रत्येक चार वर्षमा गैंडा गणना हुँदै आएको छ । दुलर्भ वन्यजन्तुका रुपमा रहेको एकसिंगे गैंडा चितवनमा पाँच भन्दा बढी र भारतमा दुई हजार ७ सय भन्दा बढी संख्यामा रहेका छन् ।
पछिल्लोपटक सन् २०११ मा गरिएको गणनाको तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ५ सय तीन, बर्दिया राष्ट्रिय निकुञ्जमा २४ र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ७ वटा सहित नेपालमा पाँच सय ३४ वटा गैंडा भेटिएका थिए । गैंडाको बासस्थानमा आएको सुधार र चोरीशिकारी नियन्त्रणले गर्दा सन् २००८ को तुलनामा २०११ मा ९९ गैंडा बढेको विश्व वन्यजन्तु कोषको तथ्यांक छ ।