उखु किसान आन्दोलित
काठमाडौं, ९ वैशाख । बिक्री गरेको उखुको मोल नपाएपछि निराश बनेका रौतहटका किसान आन्दोलित भएका छन् । उनीहरुले तीन दिनदेखि श्रीराम सुगर मिल्सको गेटमा तालाबन्दी गरेर विरोध गरिरहेका छन् । गत वर्षको २१ करोड रुपैयाँ र यस वर्षको झन्डै एक अर्ब रुपैयाँ मिल्सले भुक्तान नगरेपछि कृषक आन्दोलित भएका हुन् । उनीहरुले मिलको गेटमा तालाबन्दी गरेर मिल्सबाट उत्पादित चिनी, स्प्रिटलगायतका वस्तु लैजान दिएका छैनन् ।मंगलबार मात्रै किसानले मिल्सका बोर्ड अध्यक्ष ललितबहादुर थापा, उपाध्यक्ष वाइके शर्मा र प्रोडक्सन मैनेजर राजिव सिंहलाई कार्यकक्षमै थुनेका थिए ।
सरकारले उखुको मूल्य निर्धारण गरेपछि पेश्की रकममा बढेको ७६ रुपैयाँले १७ करोड र किसानलाई ४ सयका दरले पेश्की दिनेक्रममा चार करोड गरी २१ करोड अघिल्लो वर्षको रकम भुक्तानी पाउनुपर्ने उखु उत्पादक संघका अध्यक्ष अशोक यादवको भनाइ छ ।