संघसंस्थालाई राहात संकलन गर्न बन्देज
काठमाडौं,१४ बैशाख । जिल्ला दैवी प्रकोप उद्धार समिति कास्कीले कुनै पनि संघ संस्थालाई राहात संकलन नगर्न निर्देशन दिएको छ । सहयोग गर्न इच्छुक संघ संस्था र व्यक्तिलाई समितिले जिल्ला प्रशासन कार्यालयमै बुझाउन आग्रह गर्दै कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले यस्तो निर्देशन दिएक्क हुन् । राहात संकलनको काम व्यवस्थित गर्दै सहयोगलाई गोरखामा केन्द्रित गर्ने निर्णय गरेको समितिले जथाभावी संकलन हुने राहात हिनामिना हुने हुदाँ प्रशासनमै बुझाउन भनेको राउतले बताए । तर यहाँका संघसंस्थाले भने आफूखुशी राहात संकलन गरिरहेका छन् ।
केही समूहले आइतबार नै राहात संकलन गरेर गोरखाको बारपाकबाट ल्याइएका घाइतेलाई वितरण गरेका थिए । केहीले अहिलेपनि राहात संकलन गरिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघले भूकम्पबाट पीडितहरुको उद्धार तथा राहातका लागि तीन लाख २८ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
संघको तर्फबाट एक लाख, कार्यसमितिको तर्फबाट स्वतस्फूर्त रुपमा एक लाख २८ हजार तथा संघका व्यवसायिक सदस्य प्रतिष्ठान अटोवेज प्रालिका तर्फबाट प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलबाट प्राप्त भएकोएक लाख रुपैयाँ समेत गरी राहात कोषमा तीन लाख २८ हजार रुपैयाँ जम्मा भएको संघका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।
यस्तै मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ भूकम्प पीडित राहातकोष खाता सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो तर्फबाट एक लाख ११ हजार १ सय ११ रुपैयाँमा खाता खालेर अन्यलाई पनि रकम जम्मा गर्न आग्रह गरेको छ ।
पश्चिमाञ्चल होटल संघ पोखराले समेत आफ्नो तर्फबाट ५१ हजार रुपैयाँको राहात कोष घोषणा गरेको छ । यो राहात कोषमा संघ अन्तर्गत र संघमा आवद्ध नभएका होटल, रेष्टुरेन्टले पनि राहात जम्मा गर्न सक्ने अध्यक्ष भरतराज पराजुलीले बताए । जम्मा हुने रकम सरकारको राहात कोषमा हस्तान्तरण गर्ने संघले जनाएको छ ।