भूकम्पको प्रभाव घट्दै गयो
काठमाडौं, १६ बैशाख । महाभूकम्पको प्रभाव क्रमशः कम हुदै गईरहेको भूकम्पविद्हरुले बताएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले भूकम्पको प्रभाव विस्तारै न्यूनिकरणतिर गइरहेको बताए ।
अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका १०४ वटा र ४ रेक्टर स्केल भन्दा साना एक हजारभन्दा बढी धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो पटक आज विहान ५ बजेर ५४ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पविद् डा. सोमनाथ सापकोटाले पनि साना साना भूकम्पको धक्का महसुश हुनुले भूकम्पको प्रभाव घट्दै गईरहेको जानकारी दिए ।