भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ७ हजार नाघ्यो
काठमाडौ, २० वैशाख । विनाशकारी भूकम्पमा परी हालसम्म मुलुकभर ७ हजार ४० जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट घाइते हुनेको सङ्ख्या १४ हजार ३९८ पुगेको छ । भूकम्पका कारण १० हजार ४७७ सरकारी घर तथा भवन पूर्णरुपमा क्षति भएका छन् । आंशिकरुपमा १४ हजार १६८ घर तथा भवन क्षति भएका छन् । सर्वसाधारणका १ लाख ४१ हजार २३३ घर पूर्ण क्षति भएका छन् भने आंशिक १ लाख ४९ हजार ६५९ घर क्षति भएका छन् । पूर्वाञ्चलमा ५२, मध्यमाञ्चलमा ६ हजार ३६९, पश्चिमाञ्चलमा ४१८ र मध्यपश्चिमाञ्चलमा २ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकमा २ हजार ५८०, नुवाकोटमा ६५९, गोरखामा ४१०, काभ्रेमा ३११ र रसुवामा ३०६ जनाको मृत्यु भएको छ ।