भारतबाट पठाइएको राहत सामग्री व्यापारीको गोदामबाट बरामद
काठमाडौँ, २० वैशाख । भूकम्प पीडितका लागि भारतबाट पठाइएको राहत सामग्री नै रुपन्देही सिद्धार्थ नगरपालिकाका एक व्यापारीले लुकाएर राखेको फेला परेको छ ।
भारतको वाराणसीमा रहेको कैलाशपुरी सेवा आश्रमबाट यूपी ६३ जे ९१०० नम्बरको ट्रकमा ल्याइएको राहत सामाग्री एयरपोर्टनजिक आचार्य राइस मिलमा लुकाइ राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।मिल सञ्चालक हेम शर्मा हुन् । भन्सार छुटाएर ल्याएपनि राहत को मार्फत र कसका लागि ल्याइएको भन्ने विवरण स्थानीय प्रशासनलाई दिइएको छैन ।
बरामद गरिएका सामग्रीमा एक सय कार्टुन बिस्कुट, ५० क्वीन्टल चना, सय थान कम्बल, १५ थान टेन्ट, ५१ कार्टुन फ्रुटी र धुलो दूध र चियापत्ति रहेको एसपी राजेन्द्र ढकालले जानकारी दिए । गाडीबाट झिकेर गोदाममा थन्क्याई चाबी लगाएको अवस्थामा सामग्री प्रहरीले फेला पारेपनि मिल सञ्चालक शर्माले भने चालकले राहत लैजान नसक्ने बताएपछि आफ्नो गोदाममा राखिएको बताएका छन् ।