विदेशी उद्धारकर्तालाई फिर्ता पठाइदै
काठमाडौं, २१ बैशाख । केन्द्रीय दैवी प्रकोप उद्धार समितिले विदेशी उद्धारकर्ताहरुलाई विदाई गर्ने निर्णय गरेको छ । सामान्यतः महाभूकम्प जस्ता विपत्तीमा विदेशी उद्धारकर्तालाई एक सातासम्म मात्र देशमा रहन दिने चलन भएको भन्दै यस्तो निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।
महाभूकम्पपछि ३४ देशका ४ हजार ४५ जना उद्धारका लागि नेपाल आएका थिए । गृह मन्त्रालयले भूकम्प पीडितको उद्धार र राहतमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका १ लाख ३१ हजार ५ सय ६७ जना खटिएको जानकारी पनि दिएको छ ।
भूकम्पमा परी नेपाल प्रहरीको चार, नेपाली सेनाको नौ र सशस्त्र प्रहरीको एक जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
हालसम्म १ लाख ५५ हजार २ सय २६ वटा त्रिपाल र टेन्ट वितरण गरिएको र आज भारत पश्चिम बंगालबाट एक लाख त्रिपाल नेपाल आउने मन्त्रालयले जनाएको छ ।