जोखिमपूर्ण घर भत्काउन सुरु
काठमाडौँ । भक्तपुरमा गत १२ गतेको भूकम्पबाट भत्किएका घरहरूको पन्छाउने कार्य कम हुँदै गएपछि सुरक्षाकर्मीलाई जोखिममा रहेका घरहरू भत्काउन भ्याइनभ्याई भएको छ ।छानो भत्किएका र भूकम्पले जीर्ण बनेर उच्च जोखिममा रहेका घरहरूलाई नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विदेशी सुरक्षाकर्मी भक्तपुरका छवटै नगरपालिकाका विभिन्न क्षेत्रमा खटिएका छन् ।महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक श्यामकृष्ण अधिकारीले भूकम्पका कारण जीर्ण भएका घरहरूले दुर्घटना निम्त्याउन सक्ने भएकाले गाउँगाउँसम्म सुरक्षाकर्मी परिचालन गरेर घर भत्काउन थालिएको बताए ।
भक्तपुर नगरपालिकाका केही टोलमा भने साना गल्लीका कारण डोजर जान नसक्ने र व्यक्तिले पनि भत्काउन नसक्ने घरहरू भने क्रेन ल्याएर भत्काउनुपर्ने भएको उनले बताए ।
सुरक्षाकर्मीले जीर्ण भएर जोखिममा रहेका दैनिक ५० घर भत्काउन थालेको जानकारी दिँदै उनले यस्ता एक हजारभन्दा बढी घर भत्काउन बाँकी रहेको बताए ।
जीर्ण भई जोखिममा रहेका घर एवम् संरचनाहरू पन्छाउन अझै केही दिन लाग्ने बताउँदै प्रहरी नायब उपरीक्षक अधिकारीले विनाशकारी भूकम्पबाट जिल्लामा बालबालिका, महिला र पुरुष गरी ३१४ जनाको मृत्यु भएको र अझै थपिन सक्ने अनुमान रहेको बताए।