पशुपतिको विश्वस्वरूप मन्दिर क्षति ग्रस्त
काठमाडौ,३० वैशाख । मंगलबार पुन: भूकम्प गएपछि पशुपति क्षेत्रको श्लेषमान्तक वनमा रहेको विश्वरूप मन्दिर भत्किएको छ। गतवैशाख १२ गतेको गएको भूकम्पले चर्केको मन्दिर मंगलबार पूर्ण रूपमा भत्केको हो। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनले चर्केको भागको संरक्षण गर्दा गर्दै मंगलबार मन्दिर भत्केको बताए। उनका अनुसार पञ्चदेवल, गुह्येश्वरी मन्दिरसमेत पूर्ण रूपमा क्षतिग्रस्त भएको बताए। ‘चर्केका संरचना सबै भत्केका छन्, वृद्धाश्रमसमेत भत्केको छ,’ उनले भने।
यसैगरी, अहिले सम्मका भूकम्पले काठमाडौं महानगर क्षेत्रका ७० हजार पुराना घर क्षतिग्रस्त भएका छन्। महानगरको प्रारम्भिक आँकडाअनुसार गत वैशाख १२ र मंगलबार पुन: गएको भूकम्पले सहरका मुख्य भागका अधिकांश पुराना घरहरू भत्केका छन्। महानगरका प्रवक्ता शान्ताराम पोखरेलका अनुसार वैशाख १२ को भूकम्पले चर्केका अधिकांश घर मंगलबारको भूकम्पले क्षतिग्रस्त भएका छन्।
‘असन, वसन्तपुर क्षेत्रका पुराना घरहरू भत्केका छन् चर्केर ढल्न बाँकी घर मंगलबारको भूकम्पले ढले,’ उनले भने। पछिल्लो ठूलो भूकम्पले पक्की घरसमेत चर्केको उनले बताए। दुई वर्षअघि महानगरले तयार पारेको प्रतिवेदनमा ७५ हजार पुराना घरलाई भूकम्पीय जोखिमको सूचीमा राखेको थियो। महागरको प्रतिवेदनअनुसार बौद्ध, गोंगबु, सीतापाइला, चाबहिललगायत क्षेत्रमा अधिकांश कच्ची घर भत्केका छन्। कलंकी क्षेत्रमा ७ सय ५ पूर्ण क्षति र २ हजार ५५ घर आंशिक रूपमा क्षति भएका छन्। सीतापाइलामा ४ सय ३३ पूर्ण क्षति र १ हजार १० घर आंशिक क्षति भएका छन्।प्रवक्ता पोखरेलले महानगरभित्रका करिब ४ हजार ३ सय ९७ घरमा पूर्ण क्षति र १३ हजार ९ सय ६७ व्यक्तिगत घरमा आशिंक क्षति भएको बताए। प्रवक्ता पोखरेल क्षतिग्रस्त भवनको संख्या बढ्न सक्ने बताए। सार्वजनिक घरमा पनि निकै क्षति पुगेको उनले बताए। २३ वटा पूर्ण र २१ वटा सार्वजनिक भवन आंशिक रूपमा क्षतिको उनले बताए। तर, सार्वजनिक भवनको यो विवरणलाई पनि अन्तिम तथ्यांक मान्न नसकिने उनको भनाइ छ।
महानगरका ३५ वटै वडा कार्यालयबाट विवरण माग्ने काम भइरहेको भन्दै उनले केही दिनभित्रै सबै विवरण आउने बताए। महानगरभित्र मानवीय क्षतिको पनि प्रारम्भिक विवरण संकलन गरिएको उनले बताए। मंगलबार दिउँसो भूकम्प क्षतिको अनुगमन गर्न निस्केको टोलीले गोंगबु, सीतापाइला, ठमेल, असन, चाबहिल, बौद्धलगायतका क्षेत्रका कच्ची घरहरू भत्केको उल्लेख गरेको छ। टोलीमा सहभागी वातावरण विभाग प्रमुख ज्ञानेन्द्र कार्कीले गोंगबुचोकमा पाँचतले पक्की घर भत्केको बताए। ‘टेको लगाएका कच्ची घरसमेत भत्किएका छन्, कोर क्षेत्रका पनि निकै घरहरू भत्केका छन्,’ उनले भने। पछिल्लो भूकम्पले भत्किएका घरको विवरण संकलनका लागि पुन: टोली गठन गरिने उनले बताए। महानगरभित्रका कच्ची घरहरू नजिक पनि उभिन नहुने भन्दै उनले अब चाँडो भग्नावेश हटाउनुपर्ने बताए।