एसएलसीको परीक्षाफल असार दोस्रो साता

२०७२ जेष्ठ २ गते, शनिबार

काठमाडौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले प्रवेशिका परीक्षा (एसएलसी)को फरिक्षाफल असार दोस्रो साता प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनसार सबै उत्तरपुस्तिका सुरक्षित छन् ।भूकम्पले परीक्षार्थीको उत्तरपुस्तिका पुरिएको हल्ला निराधार रहेको भन्दै उनले भने-‘एसएलसीको उत्तरपुस्तिका सबै सुरक्षित छन्, ६४ वटा परीक्षा केन्द्रबाट परीक्षण भइरहेकामा ११ वटा केन्द्रबाट उत्तरपुस्तिका परीक्षण सकेर कार्यालयमा आइसकेको छ ।’
परीक्षा सञ्चालन भएको तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने परम्पराअन्तर्गत गत चैत ५–१३ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा असार दोस्रो सातासम्म प्रकाशन गरिसक्नुपर्नेछ ।
तर, सानोठिमीस्थित कार्यालयको भवन निकै चर्किएकाले तत्काल यहाँ बसेर काम गर्न सक्ने अवस्था छैन । यसले विगत वर्षभन्दा यस वर्ष परीक्षाफल प्रकाशनमा केही ढिलाइ भने उनले बताए ।
गत वर्ष जेठ ३० गते परीक्षाफल प्रकाशन गरेको थियो । यस वर्ष जेठ २५ गतेभित्र परीक्षाफल प्रकाशन गर्ने योजना रहे पनि भूकम्पका कारण परीक्षाफल प्रकाशन असारमै पुग्ने कार्यालयको भनाइ छ ।द्वारेले भने-‘भूकम्पले कार्यालय भवनमा क्षति पुर्याएकाले प्राविधिक काम गर्न केही ढिलाइ हुने हुँदा केही दिन परीक्षाफल प्रकाशनमा ढिलाइ हुन्छ, तर परीक्षाफल स्थगन र पुनःपरीक्षा गर्नुपर्ने आवश्यकता छैन ।” यस वर्षको परीक्षामा पाँच लाख ७४ हजार ६८५ परीक्षार्थी सहभागी भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]