राष्ट्रिय संयन्त्र बनाउ : वैद्य
काठमाडौ, ५ जेठ। नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले विपद व्यस्थापन ठूलो चुनौती भएको भन्दै सर्वपक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन । वैद्यले विपत व्यवस्थापन गर्न नसके देशमा ठूलो राजनीतिक भूकम्प आउने बताएका छन् । वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछि पार्टी गरेका काम कारबाहीबारे जानकारी दिन मंगलवार स्वयम्भूको भुइँखेलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैद्यले राजनीतिक रुपमा भूकम्प गयो भने त्यसको नेेतृत्व आफ्नो पार्टीले लिने दाबी गरे ।
महाविपतिका बेलामा पीडितमाथि राहत वितरणमा अनियमितता भएको गुनासो आएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने वैद्यले बताए । ‘राहतका कामहरु भइरहेका छन्, पाल वितरण भइरहेको छ, तर पीडितले पाल पाउन सकेका छैनन्, खाद्यान्न वितरण भइरहेको छ तर, पीडितले खाद्यान्न पाउन सकेका छैनन्,’ वैद्यले भने, ‘पीडितले राहत पाउने व्यवस्था तुरुन्त गर्नुपर्छ ।’