राष्ट्रिय सरकार गठन गर्न तयार छु :प्रधानमन्त्री
काठमाडौं, १० जेठ । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय सरकार गठन गर्न आफू तयार रहेको बताएका छन् । प्रधानमन्त्री कोइरालाले आज ३३ दलको ज्ञापनपत्र बुझ्दै सो कुरा बताएका हुन् । उनले मुलुक विपत्तिमा परेको बेला सबै नेपालीको भावनालाई समेटेर राष्ट्रिय सरकारको गठन गर्ने बताए । प्रधानमन्त्री कोइरालाले हालैको भूकम्पले गरेको विनास ठूलो चुनौति भएको भन्दै राष्ट्रिय सरकार गठन गरी त्यसको मिलेर सामना गर्ने बताए । राष्ट्रियता लोकतन्त्र र विकासको निम्ति सबै दल र नेपाली जनता एक भए कसैले पनि परास्त गर्न नसक्ने उनको भनाइ थियो ।उनले भने, ‘समस्त नेपाली एक भए कसैको डर हुदैन, विभाजित भए खतरा हुन्छ, मलाई भविष्यप्रति ठूलो भरोसा छ ।’उनले स्थानीय समस्या समाधान गर्न र स्थानीय आवश्यकता अनुसार विकासका काम सञ्चालन गर्न स्थानीय निकायको निर्वाचन अपरिहार्य भएको बताए । स्थानीय निकायको चुनाव भएको भए भूकम्पको विपत्तिमा खोजी, उद्धार र राहत कार्यक्रम अझ प्रभावकारी हुने उनको भनाइ थियो ।