राहतमा गडबडी गर्नेलाई बाकि राख्दिन :प्रधानमन्त्री
काठमाडौं, ११ जेठ । प्रधानमन्त्री सुशील कोइरालाले राहत वितरणमा गडबडी गरे जेल हाल्ने चेतावनी दिएका छन् ।सरकारी कोषमा जम्मा भएको रकम सहि ढंगले खर्च गराउने दायित्व आफ्नो भएको भन्दै प्रधानमन्त्री कोइरालाले ‘त्यस्तो रकममा मन्त्रीहरुले तलमाथि गरे पनि नछोड्ने’ चेतावनी दिएका हुन् ।‘यस्तो विपत्तिमा सरकारले गर्न नसके कसैले पनि गर्न नसक्ने’ भन्दै उनले सरकारको आलोचना मात्र नगर्न आग्रह गरे ।विभिन्न संघ–संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाएको रकम बुझ्दै सोमबार प्रधानमन्त्री कोइरालाले ‘सरकारसँग समन्वय गरेर मात्र राहत वितरणमा लाग्न’ सुझाव दिए ।‘अहिले कुनै जिल्लामा राहत नै राहत र कुनैमा खाने कुराको समेत अभाव भइरहेको’ भन्दै उनले ‘सबै स्थानमा राहत पुगोस् भनेर नै सरकारले एकद्धार प्रणाली लागू गरेको’ बताए ।उनले भूकम्पपीडित सबै जनताले समान ढंगबाट राहत पाउनुपर्नेमा सरकार दृढ रहेको भन्दै प्रमुख जिल्ला अधिकारीसँग परामर्श गरेर मात्र राहत वितरण गर्न आग्रह गरे ।
विदेशी मुलुकहरुले आफैंले उद्धारमा खर्च गरेको रकम कटाएर मात्र दिएको भन्दै प्रधानमन्त्री कोइरालाले प्रचार मात्र नगर्न आग्रह गरे ।सोमबार प्राइम बैंकले ५० लाख, नेपाल सुनचाँदी व्यवसायीहरुले २५ लाख, कर्जा सुरक्षण निगमले २७ लाख, कलाकारहरुले जम्मा गरेको ५ लाख, दिपकर फाउन्डेसनले १० लाख, कास्टमन्डप विकास बैंकले ५ लाख रकम कोषमा जम्मा गरेका छन् ।