लाङटाङ मानवविहीन

२०७२ जेष्ठ १६ गते, शनिबार

काठमाडौं, १६ जेठ । भूकम्पका कारण रसुवाको हाकु, डाँडागाउँ, ठूलोगाउँ, भोर्ले, लहरेपौवा र यार्सालगायत सात गाउँ विकास समिति नै सार्नुपर्ने भएको भएको छ ।यसैक्रममा हाकु, डाँडागाउँ, ठूलोगाउँ, भोर्ले, लहरेपौवा र यार्साका केही बस्तीलाई स्थानान्तरण गर्नुपर्ने स्थानीय प्रशासनले जनाएको छ । यसअघि लाङटाङ गाविस भने खाली गराइसकिएको छ ।
सात गाविसका करिब दुई हजार घरपरिवारलाई स्थानान्तरण गर्नुपर्ने देखिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईले जानकारी दिए ।
लाङटाङ अहिले पूरै मानवविहीन भएको छ भने हाकुबेसीका स्थानीय विस्थापित भई सदरमुकाम धुन्चेमा बसेका छन् । ठूलो हाकु, सानो हाकु र हाकुबेसी वडा नम्बर २ देखि ७ सम्म छ । ती वडामा स्थानीय सुरक्षित रुपमा डाँडातिर पाल टाँगेर बसेका भएपनि गाउँमाथि सुख्खा पहिरो जान रोकिएको छैन ।
हाकु १ नेसिङ भने सुरक्षित भनिएपनि जमिन चिरा परेकाले बस्न योग्य नभएको स्थानीयले बताएका छन् । सोही गाविसको वडा नम्बर ८ र ९ तिरु र गोगनेवासी विस्थापित भई नुवाकोट गेर्खुको बेत्रावती र इन्द्रायणीघाट नजिक बसेका छन् । डाडागाउँ वडा नम्बर ६ र ७ खड्गु, ८ र ९ करुमर्याङमा बस्तीमुनि दर्जनौ सुख्खा पहिरो गएपछि स्थानीवासी लहरेपौवा काभ्रे, नुवाकोटकै बेत्रावतीमा आस्रित छन् ।
बर्षा सुरु हुनैलाग्दा पहिरोको संभावना बढेकोले तत्काल यहाँका बासिन्दालाई अन्यत्र सार्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]