अर्थमन्त्रीका पीएले राहतको जस्ता बेच्न खोजेपछि
काठमाडौं, १६ जेठ । नुवाकोट थानसिं गाविसमा वितरणको लागि ल्याएको जस्तापाता पुनः काठमाडौंमा नै फिर्ता पठाउन लागिएको भन्दै नागरिकहरुले दुई सय ७० बण्डल नियन्त्रणमा लिएका छन् । नेपाल इन्भेष्टमेन्ट बैंकको लोगो अंकित जस्तापाता तीन सय बण्डल कविलाश गाविसमा दुई वटा गाडीमा लगिएको र सो जस्ता तीन वण्डल झारेर बाँकी जस्ता वितरण नगरी लुकीछिपी काठमाडौं पठाउन लागिएको स्थानीयवासीहरुले बताएका छन् ।
इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कबिलासका विभिन्न विद्यालयलाई सहायतास्वरुप दिएको तीन सय बण्डल जस्ता अर्थमन्त्री डा. रामशरण महतका पीए रमेश महतले बेच्न लैजाँदै गरेको अवस्थामा स्थानीयबासीले पक्रेर प्रहरीलाई बुझाएको बताएका छन् । बैंकले उक्त जस्ता पाता कबिलासका विद्यालय भवन बनाउनका लागि सरकारलाई दिएको थियो । उक्त जस्ता गाडीमा हालेर कबिलास पुर्याइएको थियो ।
अर्थमन्त्रीका सहयोगी रमेश महतले आफ्ना नातेदार विकास महतका घरमा ३० बण्डल जस्ता झार्न लगाएर बाँकी २७० बण्डल काठमाडौं फर्काउन गाडी चालकलाई भनेका थिए । गाडी फर्काएर छहरे भन्ने ठाउँमा रोकेपछि रमेशले गाडी चालकलाई फोन गरेर सो जस्ता कोटेश्वस्थित हार्डवेयर पसलमा झारिदिन आग्रह गरे । त्यसपछि गाडी चालक र महतवीच भाडामा बार्गेनिङ सुरु भयो । चालकले त्यति थोरै पैसामा आफूले जस्ता काठमाडौं नपुर्याउने बताए । फोनमा बार्गेनिङ हुन थालेपछि स्थानीयले शंका लागि गाडीमा हेर्दा जस्तापाता फेला पर्यो र तत्कालै नुवाकोट जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई खबर गरियो । स्थानीयबानसीले दिएको जानकारी अनुसार महतले उक्त जस्ता कोटेश्वरको जस्ता पसलमा बुझाइदिन अह्राएको चालकले वयान दिएका छन् ।