तामाकोसीको सेयर बाँडफाँट हुदै

२०७२ जेष्ठ १७ गते, आईतवार

काठमाडौं । माथिल्लो तामाकोसी आयोजनाको सेयर बाँडफाँट यसै साता हुने भएको छ । वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका शक्तिशाली पराकम्पनका कारण बाँडफाँटको काम निर्धारित समयभन्दा करिब एक साता पर सरेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । यसअघि आयोजनाको सेयर बाँडफाँट बुधबारसम्म हुने बताएको थियो । मुलुकमा विपत्ति आएका कारण उक्त समयभित्र सेयर बाँडफाँट नसकिएको कोषका मुख्य व्यवस्थापक तथा प्रवक्ता सुशीलकुमार अर्यालले बताए । ‘भूकम्पपछि आयोजनाको सेयर बाँडफाँट गर्ने काम केही ढिलो हुन गएको हो,’ उनले भने । कानुनी रूपमा सेयर आवेदन बन्द भएको ६० दिनभित्र बाँडफाँट गरिसक्नुपर्छ । तर, बारम्बार पराकम्पन आएका कारण उक्त समय भित्र बाँडफाँट गर्न नसकिएको अर्यालको भनाइ छ ।
माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले ऋण लगानी गर्ने संस्थाका कर्मचारी, कर्मचारी सञ्चय कोषका बचतकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र आयोजनाका कर्मचारीका लागि खुला गरिएको सेयरका लागि गत चैत १५ भित्र आवेदन लिने काम बन्द गरिएको थियो । आयोजनाले २ अर्ब ५५ करोड रूपैयाँको २ करोड ५५ लाख कित्ता सेयर निष्कासन गरेको हो । तामाकोसीको सेयरका लागि ऋण लगानीकर्ता संस्थाका कर्मचारी, प्राधिकरणका कर्मचारी र सञ्चय कोषका बचतकर्ताले १८ अर्ब ३० करोड ९७ लाख रूपैयाँ बराबरको आवेदन दिएका छन् । ‘समानुपातिक रूपमा बाडँफाँट गरिने छ,’ अर्यालले भने । आयोजनाले दोलखाका स्थानीयका लागि एक करोड ५ लाख रूपैयाँको सेयर छुट्ट्याएको छ । एउटै विवरणपत्र प्रकाशित गरे पनि विवाद सिर्जना भएपछि आयोजना प्रभावित स्थानीयका लागि भने सेयर जारी गरिएको छैन । स्थानीयलाई सेयर वितरण गरिसकेपछि सर्वसाधारणका लागि १ अर्ब ५८ करोड रूपैयाँको सेयर निष्कासन हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

१८ अर्बको अवैध कारोबार : २१ जना पक्राउ

२०८२ बैशाख १६ गते, मंगलवार

५ अर्बभन्दा बढी बजेट फिर्ता !

२०८२ बैशाख १४ गते, आईतवार

नेप्से ३.५८ अंकले बढ्यो

२०८२ बैशाख १४ गते, आईतवार