रसुवागढी जलविद्युत्मा पचास करोडभन्दा बढीको क्षति

२०७२ जेष्ठ १८ गते, सोमबार

काठमाडौं, १८ जेठ । उत्तरी रसुवाको धमन र टिमुरे गाविसमा निमार्णाधीन जलविद्युत् आयोजनामा रु पचास करोडभन्दा बढीको क्षति भएको छ ।
भूकम्पका कारण एक सय ११ मेगावाट क्षमताको सो आयोजनाको सडक तथा उपकरणमा क्षति पुगेको छ । आयोजना प्रमुख नागेन्द्र ज्ञवालीका अनुसार क्षतिको पूर्ण मूल्याङ्कन गर्न बाँकी नै रहेको छ । आयोजनाको सुरुङभित्रको भाग सुरक्षित रहेको छ भने बाहिरी भागमा क्षति व्यहोर्नु परेको उहाँले बताउनुभयो ।
“पराकम्पन बन्द भएपछि सुरुङ निर्माणको काम अगाडि बढाइनेछ” ज्ञवालीले भन्नुभयो ।
यसैगरी ५७ मेगावाट क्षमताको निर्माणाधीन साञ्जेल जलविद्युत् आयोजनाको ११ किमी सडकबाहेक अन्य सबै संरचना सुरक्षित रहेको आयोजना प्रमुख गिरिराज अधिकारीले जानकारी दिनुभयो ।
यस्तै निर्माणकार्य सम्पन्न भई राष्ट्रिय प्रसारणमा पठाइएको पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् आयोजनामा रु २५ करोडभन्दा बढीको क्षति पुगेको छ । विसं २०६० भदौ ८ गतेबाट उत्पादन सुरु भएको २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना भने सुरक्षित रहेको र भूकम्पपछि दुई हप्तामै विद्युत् उत्पादन गराई राष्ट्रिय प्रसारणमा निरन्तररुपमा पठाइएको सो विद्युत् कम्पनीका कार्यकारी प्रमुख रामगोपाल सिवाकोटीले बताउनुभयो ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २१.३० अंकले बढ्यो

२०८२ भाद्र ९ गते, सोमबार

११ कम्पनी कालोसूचीमा

२०८२ भाद्र ९ गते, सोमबार

नेप्से १८.०२ अंकले घट्यो

२०८२ भाद्र ८ गते, आईतवार