उपराष्ट्रपति झाको घर मापदण्डविपरीत

काठमाण्डौं । चाबहिल कुमारीगालस्थित उपराष्ट्रपति परमानन्द घर सडक मापदण्डविपरीत रहेको पाइएको छ । काठमाडौं उपत्यका सहरी विकास प्राधिकरणले सडक विस्तारका क्रममा उपराष्ट्रपति झाको घर मापदण्डविपरीत निर्माण भएको जनाउँदै अतिक्रमित घरको भाग भत्काउने भएको छ । मित्रपार्क–बौद्धद्वारसम्म सडक विस्तारका क्रममा प्राधिकरणले उपराष्ट्रपति झाको घर मापदण्डविपरीत रहेकाले भत्काउन उनको घरमा सूचना लेखेको छ ।उपत्यका सहरी विकास प्राधिकरणले सडक अतिक्रमण गरी निर्माण भएका र सडक विस्तारका क्रममा अधिग्रहण गरिएको जग्गा खाली गरिदिन एक महिनाको समय दिँदै आएको छ । सोहीअनुरूप उपराष्ट्रपति झाको कुमारीगालस्थित मूल सडकमा अवस्थित सो घर तीन मिटर अतिक्रमण गरी बनेको सूचनामा उल्लेख छ । प्राधिकरणले एक साताअघि नै सूचना टाँसेको हो । तर, अहिलेसम्म उनको घर भत्काइएको छैन । तीन मिटर जग्गा अधिग्रहण गर्दा उपराष्ट्रपतिको घरको अगाडिपट्टिको सबै भागको संरचना भत्काउनुपर्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले घरका संरचना आफैं भत्काउन सूचना लेखे पनि उपराष्ट्रपति झाबाट कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन । प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीले सडक विस्तारका लागि पहिलो चरणको सूचना गरी माइकिङ भइरहेको जानकारी दिए । तिवारीले क–कसले अतिक्रमण गरी घर बनाएको भन्ने जानकारी नभएको तर अतिक्रमित घर भत्काउन चिनो लगाइसकेको राजधानी दैनिकमा खबर छ ।‘उपराष्ट्रपतिको घर भए पनि अतिक्रमण गरी बनाएको भए भत्काइन्छ, यसबाट सडक विस्तारको काम रोकिन्न,’ तिवारीले राजधानीसँग भने । आगामी साता अतिक्रमण गरी बनाइएका घर भत्काउन दोस्रो पटक सूचना जारी गर्ने पनि उनले जानकारी दिए । दोस्रो पटकको सूचनामा पनि घर नभत्काए जबर्जस्ती घर तथा संरचनाहरू भत्काइने उनले बताए । मित्रपार्क–बौद्धद्वार सडकखण्ड ११ मिटर चौडाइको रहनेछ ।प्राधिकरणले हाल उपत्यकामा २ सय किमी सडक विस्तारका क्रममा रहेको र त्यसमध्ये ९० प्रतिशत काम चालू आर्थिक वर्षको अन्त्यसम्ममा पूरा गर्ने दाबी गरेको छ ।