भूकम्पपीडितलाई तत्काल १५ हजार देउ : अर्थ समिति
काठमाडौं, २० जेठ । व्यवस्थापिका संसद अन्तर्गत अर्थ समितिको कार्यालय सिंहदबारमा आज बसेको बैठकले भूकम्पपीडितका लागि सरकारले उपलब्ध गराएको तत्कालीन राहत १५ हजार रुपैयाँ अझैपनि धेरै जिल्लाका गाविसमा नपुगेको भन्दै सात दिनभित्र प्रभावित सबै घरधुरीलाई रकम उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । आज समितिको कार्यालयमा बसेको बैठकमा सभासदहरुले सरकारले भूकम्पपीडितका लागि तत्कालीन रुपमा अस्थायी बासको प्रबन्ध गर्नका लागि भनेर दिने निर्णय गरेको १५ हजार रुपैयाँ अझैपनि धेरै जिल्ला र गाउँमा नपुगेको गुनासो गरेपछि समितिले यो निर्णय गरेको हो ।
यस्तै, समितिले भूकम्पपीडितका लागि सरकारले दिने भनेको रकमका विषयमा गृह र अर्थमन्त्रीलाई समितिको बैठकमा बोलाएर जानकारी लिने निर्णय पनि गरेको छ ।
यसैगरी सहर तथा गाउँका भूकम्प प्रभावितका लागि दुई प्रतिशत व्याजदरमा दिने भनिएको रकम, त्यसका मापदन्डलगायत विषयमा जानकारी लिन राष्ट्र बैंक र बैंकिङ क्षेत्रका अरु व्यक्तिलाई पनि बैठकमा बोलाएर छलफल गर्ने निर्णय पनि गरिएको छ ।समितिले नेपालको तत्कालीन आवश्यकता र प्राथमिकताको पहिचान गरेर मात्रै दातृ निकायसँग बैठक गर्न पनि सरकारलाई सुझाएको छ ।