भूकम्पबाट ४ लाख ६९ हजार ५३९ घर तथा भवनमा क्षति
काठमाडाैँ, २४ जेठ । नेपाल प्रहरीका अनुसार बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट साढे चार लाखभन्दा बढी घर, भवन तथा भौतिक संरचना क्षतिग्रस्त भएका छन् । भूकम्पबाट पूर्ण तथा आंशिक क्षति पुगेका भौतिक संरचनाहरुको संख्या ४ लाख ६९ हजार ५३९ रहेको छ। क्षति पुगेका घर तथा भवनमा उपत्यकामा ६७१८८, पूर्व क्षेत्रमा ४५९३०, मध्य क्षेत्रमा २००८६२, पश्चिम क्षेत्रमा १४५३२६, मध्य पश्चिम क्षेत्रमा १००८५ र सुदूर पश्चिम क्षेत्रमा १४८ रहेका छन्। भूकम्पमा परी आइतबारसम्ममा ८,७६८ जनाको ज्यान गुमेको छ भने २२,४९२ जना घाइते भएका छन् भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा १७३१, पूर्व क्षेत्रमा ५८, मध्य क्षेत्रमा ६४६५, पश्चिम क्षेत्रमा ४६१ र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १३०१७, पूर्व क्षेत्रमा ४५२, मध्य क्षेत्रमा ७७४४, पश्चिम क्षेत्रमा १२४१, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन् । प्रहरीका अनुसार मृतक ८६८१ जनाको शव आफन्तलाई बुझाइ सकिएको छ । घाइतेमध्ये ४४०२ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।यसैगरी हालसम्म नेपाली नागरिक १७९ विदेशी नागरिक ७४ जना बेपत्ता भएका छन् ।
नेपाल प्रहरीबाट काठमाडौं उपत्यका लगायतका प्रभावित क्षेत्रहरुमा खाद्यान्न, त्रिपाल, स्वास्थ्य शिविर सञ्चालन र पानी लगायतका राहत सामाग्री वितरण कार्य भइरहेको प्रहरीले जनाएको छ। भग्नावशेष हटाउने, सरसफाई गर्ने, सुरक्षा गस्ती (पट्रोलिङ) गर्ने, उद्दार तथा खोज कार्यसमेतमा देशभर नेपाल प्रहरीबाट कुल ४४ हजार ६ सय २९ जना प्रहरी कर्मचारी परिचालित भएका छन्।