मुख्य दलहरु ८ प्रदेश बनाउन सहमत
काठमाडौं, २५ जेठ । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक दलबीच ८ प्रदेश बनाउने सहमतिमा हस्ताक्षर भएको छ । चार राजनीतिक दलबीच शीर्ष नेताहरुबीच सोमबार राती १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको सहमतिलाई राती अन्तिम रुप दिइएको छ । सहमतिलाई मंगलबार बस्ने संविधानसभा बैठकमा पेश गर्ने तयारी छ । सहमतिलाई राती सवा ११ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
मुख्य दलहरु ८ प्रदेश बनाउने, प्रदेशहरुको सीमांकन संघीय आयोगलाई र नामांकन प्रदेश सभालाई दिने सहमति भएको छ । यस्तै २ सय ७५ प्रतिनिधिसभामा एकसय ६५ प्रत्यक्ष निर्वाचित र एकसय १० समानुपातिकतर्फ हुनेगरी मिश्रित निर्वाचन प्रणालीमा सहमति भएको छ । शासकीय स्वरमा संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री हुने सहमतिमा एमाओवादीले भने फरक मत राखेको छ । न्याय प्रणालीमा १० वर्षका लागि संवैधानिक अदालत राख्नेबारे दलहरुबीच यसअघि नै सहमति भैसकेको हो । दलहरुबीच मुख्य विवादित विषय संघीयताको मुद्दा टुंगिएलगत्तै संविधान निर्माणको गाँठो अब फुकेको छ । यो सहमतिपछि अब संविधान लेखनको काम फास्ट ट्रयाक मार्फत हुनेछ । फोरम लोकतान्त्रिक बाहेकका मधेसी दल र जनजाति पार्टी यो सहमतिको विपक्षमा छन् ।