गोरखा पुगे राष्ट्रपति
काठमाडौं, २६ जेठ । गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पको केन्द्रबिन्दू रहेको गोरखा जिल्लामा आज राष्ट्रपति डा. रामवरण यादवले पुगी त्यस क्षेत्रको अवस्था बुझेका छन् ।नेपाली सेनाको हेलिकप्टरबाट गोरखा गोरखा पुगेका राष्ट्रपति यादवले जिल्लाका प्रमुख, राजनीतिक दलका नेताहरुसँग छलफल गर्दै ‘भूगोल बुझेर मात्रै नयाँ बस्ती बसाउन’ सुझाव दिएका छन् ।राष्ट्रपति यादवले ‘राष्ट्रिय विपत्तिपछि अब नयाँ बस्ती बसाउँदा, घर बनाउँदा, पर्यावरण जोगाउँदै भोलिका स्थायी बसोबास योजना बनाउनुपर्ने’मा जोड दिए ।गोरखा जिल्लाका ११ गाविसका २३ गाउँ भूकम्पको कारण विस्थापित हुने सम्भावना रहेको जानकारी लिएपछि राष्ट्रपति यादवले यस्तो बताएका हुन् ।गोरखा, सिन्धुपाल्चोक, दोलखा, रसुवा जिल्ला भूकम्पबाट अति प्रभावित भएकाले यी जिल्लाको तिब्बतसँग जोडिएको नाका खुलाउनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रपतिसँगै गोरखा पुगेका अर्थमन्त्री डा. रामशरण महतले गोरखा र धादिङको सीमानामा बन्न लागेको बुढिगन्डकी जलविद्युत् आयोजनाबाट विस्थापित हुनेहरुलाई उचित मुआब्जा दिएर यही बेला जमिन अधिग्रहण गर्नुपर्ने बताएका छन् ।
भूकम्पपीडित नागरिकलाई पुनःनिर्माणका लागि चाहिने पैसा सरकारले दिनेसमेत अर्थमन्त्री महतले बताए । राष्ट्रपति यादवले मंगलबारै धादिङमा भूकम्पबाट पुगेको क्षतिको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।