चम्पादेवीमा पदयात्रामा जाने पर्यटकको सङ्ख्या बढ्दै

२०७२ जेष्ठ ३० गते, शनिबार

काठमाडौँ। ‘गोरखा भूकम्प’पछि प्रभावित चम्पादेवी क्षेत्रको पदयात्रामा जाने पर्यटकको सङ्ख्या बिस्तारै बढ्दै गएको छ । पर्यटकका लागि पदयात्राको उपयुक्त रोजाइ बन्दै गएको चम्पादेवीमा रहेका विभिन्न पदमार्गमा प्रत्येक दिन पर्यटकको चाप हुने गरेकामा वैशाख १२ को भूकम्पपछि यो क्षेत्र करिब एक महिना शून्यप्रायः नै बन्न पुग्यो । चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाका अध्यक्ष जनक तामाङका अनुसार करिब दुई सातायता भने सो क्षेत्रमा पदयात्री पर्यटक आउने क्रम बढ्दै छ । पछिल्लो समयमा विदेशीभन्दा पनि स्वदेशी पर्यटक पदयात्राका लागि आउने गरेका छन् ।
चम्पादेवी पछिल्ला वर्षमा पदयात्राको महत्वपूर्ण गन्तव्य बन्दै गएसँगै कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजलगायत संस्थाको सक्रियतामा नयाँ पदमार्ग तय गरिएको छ । कीर्तिपुर क्षेत्र पर्यटन विकास समाजका सचिव वीरेन्द्र शाक्यका अनुसार नयाँ वर्ष २०७२ को अवसर पारी पछिल्लो समयमा काठमाडौँका मच्छेनारायण मन्दिर, शान्ति वन, चन्दागिरि हुँदै चम्पादेवीको नयाँ मार्ग सुरु गरिएको हो ।
नयाँ वर्षको दिन मानिसहरु ‘मनको इच्छा पूरा गर्ने’ चम्पादेवी दर्शन गर्न पुग्ने भएका कारण नयाँ वर्ष २०७२ को पहिलो दिनदेखि नयाँ पदमार्गको थालनी गरिएको उहाँले जानकारी गराउनुभयो । लगभग पाँच, छ किमी पैदल भई जानुपर्ने चम्पादेवीका लागि काठमाडौँको बोसन, देउराली – चम्पादेवी, फर्पिङस्थित हात्तीवन हुँदै चम्पादेवी, कीर्तिपुरको पुष्पलाल पार्क हुँदै चम्पादेवी, टल्कु डुँडेचौरको खार्पा हुँदै चम्पादेवीजस्ता पदमार्ग यसअघि नै सञ्चालनमा आएका थिए ।
सगरमाथासहितका हिमशृङ्खला हेर्ने उपयुक्त गन्तव्य बनेको दुई हजार २५० मि उचाइको सो स्थान पदयात्राका लागि मात्र नभएर मकालु, लाक्पादोर्जे, गौरीशङ्करलगायत हिमशृङ्खलासमेत एकसाथ अवलोकन गर्न अत्यन्त उपयोगीस्थल बन्दै गएको कीर्तिपुरका राजेन्द्र अधिकारीले बताउनुभयो । सफा मौसम भएका अवस्थामा माछापुच्छ«ेसमेतको हिमशृङ्खला पनि यहीँबाट देख्न सकिने हुँदा पनि चम्पादेवी क्षेत्र काठमाडौँ उपत्यकाभित्रको नयाँ पर्यटकीय गन्तव्य र पदयात्राको उपयुक्तस्थल बन्दै गएको अधिकारीको भनाइ छ ।
भूकम्पअघि दैनिक न्यूनतम ४०÷५० देखि एक सयदेखि १५० सम्म पनि स्वदेशी र विदेशीको भिड लाग्ने गरेको चम्पादेवी भूकम्पपछिको एक महिना भने सुनसान भएको स्थानीयवासी बताउँछन् । पछिल्लो समयमा मकवानपुरका हेटौँडा र कुलेखानी, काठमाडौँको दक्षिणकाली हुँदै बल्खुमा यातायात सुलभ भएकाले यहाँ पर्यटकको आवागमनसमेत बढिरहेको छ ।
पदयात्राका क्रममा चम्पादेवीको फेदीमा पर्ने काठमाडौँ उपत्यकाको मनोरम प्राकृतिक दह टौदह चम्पादेवीबाट अत्यन्त सुन्दर देखिन्छ । चम्पादेवीकै स्पष्ट छाया टौदहमा देख्न सकिनु पर्यटकीय आकर्षणको अर्को महत्वपूर्ण पक्ष हो ।
हाल सामान्य पर्खालका बीचमा चम्पादेवीको खुला मन्दिर भए पनि यहाँ एउटा भव्य मन्दिर निर्माण गर्न सके यहाँको आकर्षण थप बढ्ने भएकाले चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाको सक्रियतामा पुरातत्व विभागबाट मन्दिर निर्माण गरिने भएको चम्पादेवी क्षेत्र सुधार तथा व्यवस्थापन संस्थाले जनाएको छ ।
बाघ, भालु, चितुवासहित विभिन्न किसिमका वन्यजन्तु पाइने चम्पादेवीमा दुर्लभ मेची बिरालो, वन बिरालोसहित मलसाँप्रो, लोखर्के, दुम्सी, ब्वाँसोजस्ता वन्यजन्तुसमेत पाइने कारण वन्यजन्तुको अध्ययनका लागि पनि यो एउटा खुला चिडियाखानाका रुपमा रहेको छ ।
चम्पादेवी क्षेत्रमा कालिज, तित्रालगायत विभिन्न जातका पक्षीको चिरबिराहटसमेतले यहाँ प्रकृतिसँगको निकटतम सामीप्यता अनुभव गर्न सकिन्छ । दुर्लभ चिराइतो, पाखनवेद, वन लसुनजस्ता जडीबुटी तथा लप्सी, ओखर, काफलजस्ता फल पनि यहाँ पाइन्छन् । भूकम्पपछि समान्य अवस्थामा फर्कदै गएको पदयात्राको क्रम केही दिनमा नै पूर्ववत् अवस्थामा आउने विश्वास लिइएको अध्यक्ष तामाङले बताउनुभयो । वासुदेव पौडेल/रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु