यमनमा आइएसको विष्फोटमा परी ३१ को मृत्यु
काठमाडौं, ३ असार । यमनको राजधानी सनास्थित मस्जिदमा इस्लामिक अतिवादी संगठन आइएसले शृङ्खलाबद्ध विष्फोट गराउँदा ३१ जनाको मृत्यु भएको छ ।कार बममार्फत् गराइएका छुट्टाछुट्टै दुई विष्फोटमा उनीहरुको मृत्यु भएको हो । विस्फोटमा थुप्रै घाइते भएका छन् ।हूती विद्रोहीले मूख्यालय बनाएको भवनमा पनि आक्रमण गरिएको बताइएको छ ।
जेनेभामा सरकार र हूती विद्रोहीबीच संयुक्त राष्ट्रसंघको मध्यस्थतामा शान्तिवार्ता गराउने प्रयास भइरहेका बेलामा यो विष्फोट गराइएको हो ।
यसै वर्षको मार्चमा आईएसले थुप्रै मस्जिदमा आक्रमण गर्दा १ सय ३० जनाभन्दा बढी मारिएका थिए ।गत वर्षको सेप्टेम्बरमा हूती विद्रोहीले सना कब्जा गरेपछि राष्ट्रपति मन्सूर हादी भागेका थिए ।त्यही बेलादेखि साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हूती विद्रोहीविरुद्ध हवाई आक्रमण गरिरहेको छ । –एजेन्सी