भूकम्प अतिप्रभावित जिल्लामा पोषण सप्ताह

२०७२ असार ११ गते, शुक्रबार

काठमाडौ, ११ असार ।सरकारले भूकम्प अति प्रभावित १४ जिल्लामा पोषण सप्ताह सुरु गर्दैछ । आजदेखि काठमाडौं उपत्यकाका ३ जिल्लासहित गोरखा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, धादिङ, नुवाकोट, रसुवा, ओखलढुंगा, मकवानपुर, सिन्धुली, रामेछापमा एक हप्ताभरी पोषण सम्बन्धी कार्यक्रम गरिने बालस्वास्थ्य महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख गिरिराज सुवेदीले जानकारी दिए । उनका अनुसार यी जिल्लाका गर्भवती, सुत्केरी र ५ वर्ष मुनिका बालबालिकालाई लक्षित गरी कार्यक्रम गरिनेछ । त्यसका लागि समूदायस्तरमा नै स्वास्थ्यकर्मी र स्वंयसेविका खटिनेछन् । प्रभावित जिल्लामा स्वास्थ्यकर्मीले ५ वर्ष मुनिका बालबालिका कुपोषित छन्÷छैनन बारे अनुगमन गर्नेछन् र कुपोषित पाइएमा उपचार र औषधीको व्यवस्था पनि गरिएको उनले बताए ।
भूकम्पपछि अति प्रभावित १४ जिल्लामा एकसय भन्दा बढी बालबालिकामा कुपोषण भएको पाईएको छ । पोषण सप्ताहमा ६ महिना देखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनीका बालबालिकालाई जुकाको औषधी पनि खुवाईनेछ । यस्तै स्तनपान गराउनेलाई आमाहरुलाई परामर्श पनि दिईन पोषण शाखा प्रमुख सुवेदीले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]