होसियार, फुड प्वाइजनिङ हुनसक्छ…
काठमाडौं । खाना पकाएको लामो समय भैसकेपछि चिसो भएका कारण होस् वा बँचेखुसेको खाना पुनः खाँदा होस् हामीले खानेकुरालाई तताएर खाने गर्छौँ । कहिलेकाहीँ ठूलो परिमाणमा पकाएको खाना धेरै जनाले फरक–फरक समयमा खानुपर्दा धेरै पटक तताउनुपर्ने हुन्छ । घरमा बिहान पकाएको खाना धेरै हुँदा दिउँसो र बेलुकीसम्म पनि खाने र त्यसो गर्दा पटक–पटक तताउने गरिन्छ । तर विज्ञहरुका अनुसार पटक–पटक खाना तताएर खानु हानिकारक हुन्छ । खानालाई धेरै पटक तताउँदा त्यसमा भएको पोषक तत्व नष्ट हुन्छ । यतिमात्र होइन, आलु, कुखुराको मासु, अण्डा लगायतका कतिपय खानेकुराहरुलाई पटक–पटक तताउँदा ती खानेकुराको तत्वहरुमा रासायनिक प्रतिक्रिया भएर बदलिन्छ । विज्ञहरुका अनुसार धेरैपटक खानेकुरा तताउँदा पटक–पटकको रासायनिक प्रतिक्रियाका कारण हानिकारक तथा विषाक्त पदार्थ समेत सिर्जना हुने र अर्थात् फुड प्वाइजनिङको खतरा पनि हुन्छ । यी खानेकुराहरु पकाइसकेपछि धेरैपटक तताउनु हानिकारक हुन्छः
पालुंगोको साग–पालुंगो लगायतका सागपातमा नाइट्रेट रसायन हुन्छ, जुन पटक–पटक तताउँदा विषाक्त पदार्थमा परिणत हुन्छ ।
अण्डा– उच्च तापक्रममा पटक–पटक अण्डा तताउँदा अण्डामा भएको प्रोटिनको रासायनिक परिवर्तन भई विषाक्त पदार्थको निर्माण हुने जोखिम हुन्छ । त्यसकारण एकपटक उमालिसकेको वा अम्लेट बनाइसकेको अण्डालाई फेरि–फेरि नतताउनुहोस् ।
च्याउ– च्याउको तरकारी सधै ताजा मात्र सेवन गर्नुहोस् । बासी वा पकाएको लामो समय भएर पुनः तताएको च्याउ नखानुहोस् । च्याउ निकै संवेदनशील तरकारी हो । च्याउलाई पटक–पटक तताउँदा यसमा भएको उच्च मात्राको प्रोटिन हानिकारक पदार्थमा बदलिन सक्छ ।
कुखुराको मासु– मानिसहरु कुखुराको मासुलाई फ्राइ गरेर राख्ने र तताउँदै खाँदै गर्न रुचाउँछन् । तर यसो गर्नु हानिकारक हुनसक्छ । किनकी कुखुराको मासुमा प्रोटिनको मात्रा उच्च हुन्छ । जुन चिसो भैसकेपछि फेरि तताउँदा विषाक्त पदार्थमा बदलिन सक्छ ।
आलु– आलु स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर यदि पकाएको आलुको परिकारलाई लामो समयसम्म फ्रिजमा राखेर फेरि तताएर नखानुहोस् । यसो गर्दा आलुमा हानिकारक रासायनिक प्रतिक्रिया भई आलुमा भएको तत्व विषाक्त पदार्थमा परिणत हुने जोखिम रहन्छ ।