आज विश्व जनसंख्या दिवस
काठमाडौ, २६ असार । आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष दिवसको नारा ‘आपत्कालीन अवस्थामा असुरक्षित जनता’ भन्ने नाराका साथ यो दिवस मनाइन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि आज दिवसको अवसरमा कार्यक्रम गर्न लागेको मन्त्रालयका प्रवक्ता डा गुणराज लोहनीले जानकारी दिए ।
सन् १९८९ को जुलाइ ११ मा विश्वको जनसंख्या ५ अर्ब पुगेको अवसर पारेर संयुक्त राष्ट्रसंघले २६ वर्षअघिदेखि यो दिवस मनाउन शुरु गरेको हो । पछिल्लो केही वर्षको तथ्यांकअनुसार प्रत्येक वर्ष करिब ८ करोड जनसंख्या बढिरहेको छ । तर जनसंख्याको वृद्धिदरमा कमी आइरहेको छ । सन् २०५० मा जनसंख्या वृद्धिदर ० दशमलव ५ मा भन्दा पनि कम हुने प्रक्षेपण गरिएको छ । तर जनसंख्या वृद्धिदर घटे पनि व्यवस्थापन तथा विभिन्न समस्यामा भने कम हुन नसकेको विज्ञहरु बताउँछन् ।