अझै खुल्न सकेन साँखुको बजार
काठमाडौँ, २८ असार । काठमाडौँको उत्तरपूर्वी भेगको व्यापारिक सहरका रुपमा चर्चित ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक साँखु बजार भूकम्पपछि अझै पूर्णरुपमा खुल्न सकेको छैन । उत्तरपूर्वी भेगका काँठ क्षेत्रको मात्र नभई सिन्धुपाल्चोक जिल्लाको पश्चिमी, भक्तपुर जिल्लाको उत्तरपूर्वी र काभ्रेपलाञ्चोक जिल्लाको उत्तर पश्चिमी भेगका गाविसको बजारका रुपमा समेत साँखु प्रख्यात छ ।
अरनिको राजमार्ग खुल्नुअघि साँखु नाकाबाट नै चीनसँग व्यापार हुने गरेको थियो ।
वैशाख १२ गतेको भूकम्पपछि साँखुका २० प्रतिशत पसल पूर्णरुपमा र ४० प्रतिशत पसल आंशिकरुपमा क्षति भएको स्थानीय व्यापारी पवनलाल श्रेष्ठले बताउनुभयो । “भूकम्पपछि जनजीवन सामान्य बन्दै गए पनि यहाँका २० प्रतिशत बजार अझै खुल्न सकेको छैन, बजारभित्रका पुराना घर भत्केर जम्मा भएको फोहरको थुप्रो नहटाइँदा बस्नयोग्य घरमा पनि जान सकेका छैनौँ” उहाँले भन्नुभयो ।
घर भत्केका संरचनाले सधैँ बसेको साँखु बजार आफ्नो ठाउँ नै होइन जस्तो लाग्न थालेको स्थानीय लक्ष्मी श्रेष्ठले बताउनुभयो । “बजारमा पुग्दा कहाँकहाँ न पुगेको जस्तो लाग्छ, पुराना सबै पसल र बजार नखुल्दा खोजेको सामान पाउन मुस्किल भएको छ”– उहाँले भन्नुभयो ।
भूकम्पले भक्तिनारायण श्रेष्ठले सञ्चालन गरेको चर्चित मिठाई पसल भत्केर पाँच जनाको मृत्यु भएपछि सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र भक्तपुरसम्मका ग्राहक आउने पसल अहिलेसम्म सञ्चालन हुन सकेको छैन । श्रेष्ठ र छोरीसहित परिवारका तीनजना र पसलमा आएका दुई जना ग्राहकको पुरिएर मृत्यु भएको थियो । परिवारका सदस्य गुमाएको शोकका कारण अझै पसल चलाउन नसकिएको श्रेष्ठकी श्रीमती सुनिता श्रेष्ठ बताउनुहुन्छ ।
परिवारका तीन सदस्यको निधनले सबैभन्दा बढी चिन्तित बनाएको छ श्रेष्ठकी १०१ वर्षीया आमा भक्तिदेवी श्रेष्ठलाई । भूकम्पले परिवारमा पु¥याएको क्षतिका कारण वृद्धा भक्तिदेवीमा बर्बराहट बढेको नातिनी मनिता श्रेष्ठले बताउनुभयो ।
भूकम्पपछि आएको राहतले साँखुमा चामलको बिक्री ठप्प भएको किराना व्यवसाय सञ्चालन गर्दै आउनुभएका चन्द्रमान श्रेष्ठले बताउनुभयो । राहतमा चार पाँच बोरासम्म चामल आएपछि स्थानीयवासीले चामल किन्न नपरेको उहाँले बताउनुभयो ।
काभ्रेपलाञ्चोकको देउपुरबाट किनमेल गर्न आउनुभएका श्यामसुन्दर ढकाल पहिले जस्तो सबै सामान साँखु बजारमै पाउन नसकिएको गुनासो गर्नुहुन्छ ।
बन्द बजार खुल्न दसैँसम्म लाग्ने स्थानीय व्यापारी बताउँछन् । रासस