आज हरिशयनी एकादशी

२०७२ श्रावण ११ गते, सोमबार

काठमाडौँ, ११ साउन । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशी आज घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै छ । हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु(हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ ।
वैदिक सनातन धर्म र संस्कृतिमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको पंडित माधवप्रसाद सापकोटाले बताए ।
“हिन्दू समाजमा यस दिनलाई महत्वपूर्ण पर्वका रूपमा लिइन्छ । आजका दिनदेखि चतुर्मास व्रत सुरु हुन्छ । आज घरघरमा तुलसी रोप्ने चलन छ ।” – उनले बताए । चतुर्मास अवधिमा तुलसीको सेवा गर्नु अति उत्तम कार्य भएको बताउँदै उनले भने – “जसका घर आँगनमा तुलसीको मोठमन्दिर राखी तुलसी रोपिन्छ त्यहाँ देवताको बास भइरहन्छ । स्वप्नमा पनि यमराजका दूत त्यस घरमा पुग्न नसक्ने र तुलसीको बोट बिरुवामा जल चढाइरहने मानिसका वंशको तीनै लोकमा कल्याण हुने तथा निःसन्तान मानिसलाई सन्तान पैदा हुने जस्ता धेरै जनविश्वास प्राचीन कालदेखि चलिआएका छन् ।”
हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक महिनाको प्रबोधनी (हरिबोधनी) एकादशीका दिन जागा हुनुहुने हउनले बताए ।
चतुर्मास अवधिमा श्रीविष्णु(हरि) भगवान्को पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख गरिएको छ ।
हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ । हरिशयनी एकादशीका अवसरमा आज फर्पिङस्थित शेषनारायण मन्दिर, बूढानिलकण्ठस्थित बूढानिलकण्ठको मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज अक्षय तृतीया

२०८२ बैशाख १७ गते, बुधबार