‘हार’शब्द सिरियाली सेनाको शब्दकोषमा छैनः राष्ट्रपति

२०७२ श्रावण ११ गते, सोमबार

काठमाडौं, ११ साउन । सिरियाका राष्ट्रपति बशर अल असदले आफ्नो सेनामा जनशक्तिको कमी हुन थालेको स्विकारेका छन् ।
सेनामा परेको दबाबकै कारण कतिपय क्षेत्र बचाउनका लागि कतिपय क्षेत्र युद्धमा गुमाउन परिरहेको बताए । कुनैबेला तीन लाखको संख्यामा रहेका सैनिक हाल आधामा घटेको बताइएको छ ।
देशको केही क्षेत्रमा सेनाले सुरक्षा दिन नसकेको भन्दै असदले जहाँ सकिन्छ त्यहाँ क्षेत्र रक्षा गर्नुको कुनै उपाय नभएको उल्लेख गरे ।
बाहिरी सहयोगका कारण अतिवादीहरु बलियो बन्दै गएको तर सिरियाली सेनाको अवस्था भने खस्कँदो रहेको उनको भनाइ छ ।
टर्की, सउदी अरब र कतार जस्ता देशले विद्रोहीलाई सघाएको आरोप उनको छ ।
राजधानी दमास्कसमा टेलिभिजन संबोधन गर्दै उनले मूख्य शहरहरु दमास्कस, होम्स, हामा र समुन्द्री किनारा बचाउन आफ्नो सेना सक्षम हुने विश्वास ब्यक्त गरे । ठूला शहर मानिने उत्तरी सिरियाको एलेप्पो र दक्षिण सिरियाको डेरा जोगाउन भने असद सरकारलाई धौंधौं परेको छ । विद्रोहीसँग कुनै सम्झौता नहुने भन्दै उनले युद्ध जारी रहने प्रष्ट पारे । आफ्नै अभिव्यक्तिमा कमजोर प्रतीत असदले हार नामको शब्द सिरियाली सेनाको शब्दकोषमा नरहेको जिकीर गर्न पनि भुलेनन । जबकी यसै वर्ष उत्तर–पश्चिमी प्रान्तको राजधानी इदलिब र पलमायरा शहरमा इस्लामिक अतिवादी संगठन आईएसले कब्जा गरेको थियो । सिरियामा चलिरहेको संघर्षमा अहिलेसम्म दुई लाख ३० हजारभन्दा बढी मानिस मारिएका छन् भने लाखौंलाख मानिस बेघरबार भएका छन् । तीन लाख सैनिक रहेको सिरियामा युद्धकै कारण यो संख्या घटेर आधामा झरेको दावी समाचार संस्था एएफपीले गरेको छ । मार्च २०११ बाट शुरु भएको सिरियाली गृहयुद्धमा ८० हजारभन्दा बढी सैनिक मारिइएका छन् भने ७० हजार बढीले पेशा छाडेको खबर छ ।

प्रतिक्रियाहरु

[anycomment]