आज बाग्मती सफाइ महाअभियानको ११६ औँ शृङ्खला
काठमाडौँ, १६ साउन । बाग्मती सफाइ महाअभियानको ११६ औँ शृङ्खलाअन्तर्गत आज त्रिवि प्रवेशद्वार नजिकको नदी किनाराबाट करिब २२ मेट्रिक टन फोहर आज व्यवस्थापन गरिएको छ । काठमाडौँ महानगरपालिकाले बाग्मती नदी सफाइ गर्ने क्रममा त्यस आसपास क्षेत्रको फोहर व्यवस्थापनका साथै विष्णुमती नदी सफाइका क्रममा आज शोभा भगवती मन्दिर क्षेत्रमा समेत सफाइ गरिएको महानगरपालिकाका वातावरण व्यवस्था महाशाखाका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।
नदी तथा त्यस आसपास क्षेत्रका किनाराबाट प्लास्टिक, सिसा, बोरा तथा जैविक फोहर सङ्कलन गरिएकोे छ । मानव सभ्यता र पहिचानसँग गाँसिएको बाग्मतीमा विभिन्न रसायन, ढल तथा फोहर मिसिएर प्रदूषण बढ्न थालेपछि त्यसलाई स्वच्छ र सफा कायम गर्ने उद्देश्यले २०७० जेठ ४ गतेबाट विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भई अभियान गठन गरी सफाइ थालिएको थियो ।
सो अभियानको नेतृत्व मुख्यसचिव लीलामणि पौड्यालले गर्दै आएका छन । अभियन्ता माला खरेलले महाअभियानले स्थानीय तहमा ल्याएको चेतनाका कारण नदी अहिले सफा बन्दै गएको सो कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
उक्त कार्यक्रममा फोहर व्यवस्थापनमा सक्रिय विभिन्न सङ्घ संस्था, स्थानीयवासी, सुरक्षाकर्मीलगायतको सहभागिता थियो ।