मस्जिदमा आत्मघाती हमला, १५ जनाको मृत्यु
काठमाडौ, २२ साउन । साउदी अरबमा एउटा मस्जिदमा भएको आत्मघाती हमलामा कम्तीमा पनि १५ जनाको मृत्यु भएको छ । दक्षिणी प्रान्त असीरको राजधानी अभामा रहेको सो मस्जिदमा भएको हमलाको जिम्मेवारी उग्रवादी संगठन इस्लामिक स्टेटले लिएको छ । सुरक्षा बलले प्रयोग गर्दै आएको मस्जिदमा हमला भएको जनाइएको छ । साउदी अरबले छिमेकी मुलुक यमनमा शिया विद्रोहीविरुद्ध अरब राष्ट्रको गठबन्धनले गर्दै आएको हमलाको नेतृत्व गरिरहेको छ । साउदी अरबको सरकारी टेलिभिजनका अनुसार मारिएका सबै सुरक्षा बलका सदस्य हुन् । – एजेन्सी