भैरहवामा कर्फ्यु जारी
काठमाडौ,५ भदौ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा क्षेत्रमा कर्फ्यु जारी गरेको छ । जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकपछि प्रशासन कार्यालयले शनिबार बिहान ११ बजेदेखि आउँदो बुधबार बेलुका ६ बजेसम्मका लागि सभा, जुलुस, सम्मेलन गर्न नपाउने तथा ५ जना भन्दा बढी जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरेको हो ।
भैरहवाबाट पूर्व बसन्तपुर गाविस, पश्चिम गौतमबुद्ध विमानस्थलको मायादेबी मन्दीर, उत्तरमा विद्युत प्राधिकरणको कार्यालय र दक्षिणमा बेलहिया बाइपास सडकसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । यसअघि बिहीबार बन्दका क्रममा भैरहवामा अवस्था तनावपूर्ण भएको थियो । बिहीबार र शुक्रबार राति कर्फ्यू लगाइएको थियो ।
यसैबीच, सात प्रदेशको खाका सार्वजनिक भए लगत्तै एकीकृत राप्ती र सल्यानलाई पाँच प्रदेशमा राख्नुपर्ने माग गर्दै सल्यानमा आन्दोलन सुरु भएको छ ।
पछिल्लो बिभाजनमा सल्यानलाई राप्तीबाट अलग गरिएको भन्दै प्रदर्शन सुरु भएको हो । प्रदर्शनकारीले सल्यानलाई राप्तीबाट अलग गरेको र रुकुम टुक्राउन भूमिका खेलेको भन्दै एकीकृत माओवादी सभासद जनार्दन शर्मा, एमाले सभासद प्रकाश ज्वाला र कांग्रेस सहमहामन्त्री पूर्णबहादुर खड्काको पुत्ला जलाएका छन् । आन्दोलनका कारण अहिले सल्यान सदरमुकाम ठप्प छ भने यातायात र बजार सञ्चालन हुन सकेका छैनन् ।