सप्तकोसीमा पानीको बहाव उच्च , स्थानीय त्रसित
काठमाडौ, ९ भदौ । सप्तकोसी नदीमा बुधबार साँझ ५ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड १ लाख ८१ हजार ५ सय ६५ क्युसेक पुगेको छ । पानीको बहाव बढेपछि खतराको संकेत स्वरुप कोसी ब्यारेजमा रातो बत्ती बालिएको छ । पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये २२ ओटा ढोका खोलिएका जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।सप्तकोसीमा पानीको बहाव बढेसँगै त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । बुधबार पूर्वी पाहाडी जिल्लाहरुमा वर्षा भएपछि सप्तकोसीमा पानीको बहाव बढेको हो । सामान्यतः सप्तकोसीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतराको सूचक मानिन्छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले सप्तकोसीमा पानीको बहाव बढेपछि सुनसरीको हरिपुर, भन्टाबारी, महेन्द्रनगर र चतरामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा राखिएको जानकारी दिए ।