१ सय ४८ पदकोलागि ४१ हजार आवेदन
काठमाडौं । नेपाल वायु सेवा निगमको विज्ञापनमा परेको आवेदनवाट मुलुकमा शैक्षिक बेरोजगारी र सरकारी जागिरको आकर्षण कति छ भन्ने प्रस्ट पारेको छ । १ महीनाअघि निगमले १ सय ४८ पदमा खुला गरेको विज्ञापनमा ४१ हजारभन्दा बढीले आवेदन दिएका छन् । यसबाहेक दोब्बर दस्तुरको ७ दिनको अवधिमा दैनिक २ सयभन्दा बढीले आवेदन भरेको निगमले बताएको छ । कम पढेलेखेका ग्रामीण भेगका लाखौं युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका छन् भने उच्च शिक्षा हासिल गरेका युवापुस्ता सरकारी जागिरको खोजीमा राजधानीलगायत शहरमा भौतारिरहेका देखिन्छन् । विज्ञापन प्रकाशन भएको पहिलो २१ दिनको अवधिमा निगमल खुला गरेको विभिन्न पदमा ४१ हजारभन्दा बढी आवेदन परेको निगमका प्रवक्ता रामहरि शर्माले बताए । निगमको इतिहासमै पहिलोपटक धेरै सङ्ख्यामा कर्मचारी भर्नाका विज्ञापन गरिएको छ । सोहीअनुसार धेरै आवेदन परेपछि परीक्षाका लागि पनि केही समय लाग्ने निगमले बताएको छ । निगमले सामान्य प्रशासनतर्फ अधिकृतस्तर (तह ६)मा २४, वरिष्ठ सहायक पद (तह पाँच)मा १८, सहायक (तह चार)मा ५६ तथा लेखा अधिकृत (तह ६)मा २३, वरिष्ठ लेखा सहायक (तह पाँच)मा ६ र लेखा सहायक (तह चार)मा २१ पदका लागि दरखास्त आह्वान गरेको थियो ।
सबैभन्दा बढी प्रशासनको सहायक पद (चौथो तह)मा १८ हजारले आवेदन दिएका छन् भने त्यसपछि पाँचौं तहको वरिष्ठ सहायकमा ९ हजार ९ सयले आवेदन दिएका छन् । अधिकृत (तह ६)मा ५ हजार ९ सयको आवेदन परेको छ । उक्त आवेदन व्यवस्थित गरेपछि परीक्षा लिन मङ्सिर महीनासम्म समय लाग्ने निगमको अनुमान छ । निगममा माग हुने जनशक्तिका लागि यस अघिदेखि नै नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले परीक्षा लिँदै आएको छ । लोकसेवाको मापदण्डअनुरुप सम्पूर्ण परीक्षा निष्पक्ष र प्रतिस्पर्धात्मक हुने जानकारी गराउँदै प्रवक्ता शर्माले बाह्य हल्लाका पछाडि नलाग्न परीक्षार्थीलाई सुझाव दिए ।