वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु
काठमाडाैँ, १४ भदाै । वीरगन्ज उपमहानगरपालिकाको नगवा र घन्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच पटक पटक झडप भइरहेको छ । प्रदर्शनकारी र प्रहरीबीच आज वीरगन्जमा पटक पटक भइरहेको झडपका कारण यहाँको जनजीवन त्रसित बनेको छ । यसैबीच स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा राख्न वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले दिउँसो ३ बजेसम्म करिब पाँच दर्जन हवाई फायर र दर्जनौँ राउन्ड आश्रु ग्यास प्रहार गरेको सुरक्षा स्रोतले जनाएको छ ।
प्रहरीले प्रहार गरेको रबरको गोली लागेर वीरगन्ज उपमहानगरपालिका– १० का कृष्णकुमार पटेल घाइते भएका छन् । उनको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भइरहेको छ । उनको टाउको तथा हातमा गोली लागेको बताइन्छ । झडपमा परी स्थानीय इर्फान अंसारी, अनवर हवारी, मनोजकुमार राम, मुन्नाकुमार यादवलगायत एक दर्जन व्यक्ति घाइते भएका छन् । उनीहरुको पनि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।
प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन व्यापक मात्रामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । स्थिति अराजक हुन नदिन आवश्यक सम्पूर्ण उपाय अवलम्बन गर्न अहिले स्थानीय सुरक्षा समितिको बैठक बसिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले बताए ।