आजदेखि गौरा पर्व सुरु
काठमाडौं, १६ भदौ । यस वर्षको गौरा पर्व आजदेखि सुरु भएको छ । सुदूर तथा मध्यपश्चिमका जिल्लामा मनाइने गौरा पर्व अन्तर्गत आज भाद्र कृष्ण पञ्चमीका दिन गौरालाई गौराघरमा बाजागाजा सहित विरुणा पञ्चमीका रुपमा भित्र्याइँदैछ । गौरा पर्व मान्ने महिलाहरुले आज विरुणा पञ्चमीका दिन पञ्च नाज गौ, गहत, मास, गुरुस र कलउलाई भिजाउने गरेको ज्योतिष पण्डित देवीदत्त पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार आज भिजाएको विरुणालाई भोलि षष्ठीको दिन धुने चलन रहेको छ । सप्तमीको दिन गौरा देवीको मूर्ति तयार गरेर आज भिजाइएका विरुणाले गौरा देवीको मूर्ति पुज्ने चलन रहेको छ ।
तिथिको हिसाबले यो वर्षको गौरा पर्व कृष्णपक्षमा परेकाले यसलाई अँधेरी गौरा भन्ने गरिएको छ । शुक्लपक्षमा परेको गौरालाई उज्याली गौराको रूपमा पुजिने गरिन्छ ।