म्याग्दीमा जोगी नाच

२०७२ भाद्र २५ गते, शुक्रबार

काठमाडौं, २५ भदौ । म्याग्दीका नेवार समुदायहरुले दुईसय वर्ष पुरानो लोपोन्मुख जोगी नाच प्रस्तुत गरेका छन् । नेवार समुदायको संस्कृति वर्षेनाच अन्तर्गत उनीहरुले जोगीकै भेषमा जोगी नाच देखाएका हुन् । जोगी, महादेव, पार्वती र सप्तऋषिको भेषमा सजिएका झण्डै एकसय कलाकारहरुले बजारका विभिन्न घरघरमा पुगी आर्शिवाद र भिक्षा लिएका छन् । यहाँका सबै समुदायका युवा पुस्ताले नाच देखाउनमा सहयोग गरेको वर्षेनाच संरक्षण समितिका संयोजक हिक्मत श्रेष्ठले जानकारी दिए । ‘जोगी नाच नेवारहरुको पुरानो संस्कृति हो’ संयोजक श्रेष्ठले भने , ‘संस्कृतिको संरक्षणमा युवाहरुको सहभगिता रहेको छ ।’
युवाहरुले संस्कृति जोगाउनका लागि देखाएको सक्रियताबाट उत्साहित हुँदै नेवारलगायत अन्य जातजाति र समुदायका युवाहरु पनि जोगीको भेषमा बजारमा निस्केका छन् । एकसय जना जोगीको भेषमा एक्कासी बजारमा निस्किएपछि केही मानिस भने अचम्ममा परेका छन् । युवाहरुको संस्कृतिप्रतिको आस्था र लगावका कारण कतिपय उमेर ढल्केका वृद्धहरुले समेत उत्साहका साथ पुरानो नाच प्रदर्शन गरेका कारण आफूहरुलाई प्रोत्साहन मिलेको नेपाल भाषा मंका खःल अन्तर्गत रहेको युवा समिति ल्याम्ह पुचःका अध्यक्ष सुविन श्रेष्ठले बताए । यहाँ गत साउन २९ गते (घण्टाकर्ण चतुर्दशी) का दिनबाट शुरु भएको वर्षेनाच अन्तर्गत लाखेनाच, घोडानाच, नागनागीनी नाच, गोरुनाच, रोपाइँ नाच र जोगी नाचलगायतका नाचहरु प्रदर्शन भइरहेको छ । झण्डै एक महिनासम्म देखाइने वर्षेनाच तीजको दिनमा दानव स्वरुपको लाखेलाई भगवान श्रीकृष्णनले बध गरेपछि असत्यमाथि सत्यको विजय भएको सन्देशसहित समापन गर्ने प्रचलन रहिआएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु