संविधान निर्माण प्रक्रिया स्थगित

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संविधान निर्माण प्रक्रिया आइतबारसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । बैठकले लामो छलफलपछि संविधान निर्माण प्रक्रिया स्थगित गरेर आन्दोलनरत दलहरुलाई वार्ताका लागि पुनः आह्वान गर्ने निर्णय गरेको एमाओवादी नेता डा. बाबुराम भट्टराईले जानकारी दिए ।
संविधानसभामा शुक्रबारबाट संविधानको विधेयकमाथिका संशोधन प्रस्तावहरुमा गरिने भनिएको मतदानको प्रक्रिया स्थगित गरी दलहरुले वार्ताका लागि फेरि आह्वान गरेका हुन् ।
तत्काललाई विधेयकमाथिका संशोधन प्रस्तावमा मतदानको प्रक्रिया नथाल्ने र आइतबारसम्ममा सबै विषयलाई निश्कर्षमा पुर्याउने निर्णय भएको नेताहरुले बताएका छन् ।आन्दोलनरत मधेसी मोर्चा र थारुवान–थरुहट संघर्ष समितिले संविधान लेखनको प्रक्रिया स्थगित गरी वार्ताको वातावरण बनाउन माग गर्दै आएका थिए ।
शुक्रबार बिहानै भारतीय राजदूत रणजित रायले एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेट गरी संविधान निर्माण प्रक्रियामा आन्दोलनरत दलहरुलाई पनि समेट्न सुझाव दिएका थिए ।