तराईका जिल्ला अझै अशान्त
काठमाडौ २८ भदौ । संविधानसभामा संविधान निर्माणको प्रक्रिया भटाभट भइरहँदा तराई क्षेत्रमा भने आनदोलनको क्रम कायमै छ । हिजो दिनभर तनावग्रस्त बनेको रौतहटको गौर क्षेत्र अहिले केहि शान्त रहेको छ । स्थानिय प्रशासनले आइतबार रातीबाट कफ्र्यु हटाएसंगै गौरमा प्रदर्शन रोकिएको हो । तर कर्फ्यु हटेपनि यहांका सरकारी कार्यालय र बिद्यालय खुल्न सकेका छैनन् । बजारमा चहलपहल हुन सकेको छैन । रौतहटका दंगाग्रस्त क्षेत्र भने कायमै राखिएको छ ।
उता, महोत्तरीमा गत बुधवार र शुक्रवार प्रहरीको गोली लागी मृत्यु भएकाको सोमबार शवयात्रा निकालिनुको साथै सामुहिक दाह संस्कार गरिने भएको छ ।
रोहन चौधरी, अमित कापर, रामविवेक यादव, विरेन्द्र विच्छा, रामशिला देवी मण्डल र गणेश चौधरीको शव दाहसंस्कार हुन नसक्दा अस्पतालमै रहेको थियो ।
स्थानीय प्रसाशनले शहीद घोषणा, क्षतिपुर्ती परिवारको एकजनालाई जागिर लगायतका मागहरु सिफारिस गर्न तयार भएपछि आज शवयात्रा र दाहसंस्कार गर्ने निर्णय मोर्चाले गरेको हो ।
स्थानिय प्रशासनले बिहान ६ देखि ९ बजेसम्म कर्फ्यु हटाएपनि शव यात्राको क्रममा कर्फ्यु खुकुलो पार्ने समेत सहमति भएको छ । उता, धनुषाको जनकपुर आसपास पनि भदौ २४ गतेबाट लगाइएको कर्फ्यु अझै जारी छ ।
यता, सिरहाको लहान नगरपालिका आसपासका क्षेत्रमा पनि कर्फ्यु जारी छ । उता, सप्तरीमा कर्फ्यु जारी नरहेपनि स्थानिय प्रशासनले दंगाग्रस्त क्षेत्र कायमै राखेको छ ।
उता, बीरगञ्ज, कैलालीको धनगढी र टीकापुरमा दुई साता लामो कर्फ्यु स्थानिय प्रशासनले अझै जारी राखेको छ । संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द गत साउन २९ गतेबाट जारी छ भने थरुहट संघर्ष समितिले गरेको बन्द साउन २६ गतेदेखि जारी छ ।