आज तीज मनाइदै
काठमाडौं, ३० भदौ । आज भगवान शिवको आराधनासहित ब्रत बसेर हिन्दु नारीहरुले तीज पर्ब मनाइरहेका छन् । परपरागत कथन अनुसार पार्वतीले गुप्त स्थानमा शिवजी स्वामी पाउनका लागि गरिएको उपवास ब्रतलाई हरितालिका तीज भनिएको पाइन्छ । हिमालय पर्वतकी पुत्री पार्वतीले बाल्यकालदेखि श्री महादेव स्वामी पाऊँ भनी मनमनै कामना गरिरहेको भए पनि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान दिन तयारी गरेको थाहा पाई सखीहरुले पार्वतीलाई हरेर कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले महादेव स्वामी पाऊँ भनी निर्जल ब्रत बसेको हुनाले यसलाई हरितालिका ब्रत भन्ने गरिएको पुराणमा वर्णन गरिएको छ ।
हिन्दू नारीहरुको महान् धार्मिक पर्वका रुपमा लिइने हरितालिका ब्रतमा पतिको लामो आयुको कामना गरी निराहार बसेर रातभर आफ्नो अटल सौभाग्यको प्रतीकस्वरुप दीप, कलश स्थापना गरी भोलिपल्ट गोदान र पूर्णपात्र गरेर ब्रत तोड्ने परम्परा छ ।
परापूर्वकालदेखि आफ्नो सम्पूर्ण आस्था र विश्वासका साथ हिन्दू नारीहरु निराहार र निर्जल बसी यस दिन भगवान् शिवको पूजा अचर्नासहित हरितालिका तीजको ब्रत बस्ने गर्दछन् ।
भाद्र शुक्ल द्वितीयाका दिन दर खाई तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।
दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने ब्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रुपमा मीठामीठा परिकार खाने चलन छ ।
तीजको दर खान विशेष गरी माइतीले छोरी–चेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा गरिन्छ । यस चाडलाई नारी स्वतन्त्रताको प्रतीकका रुपमा पनि लिने गरिन्छ ।
सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौंको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङको हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका शिव मन्दिरहरुमा बिहानैदेखि घुँइचो लागेको छ ।
शिवको आराधनासहित महिलाहरुले तीज गीतको भाकामा आफ्ना वर्र्षभरिका पीडा पोख्दै गीत गाउने र नाच्ने गर्दछन् । यस अवसरमा सरकारले महिलाका लागि बिदा पनि दिने गरेको छ ।