एन्ट्यागका भ्रष्ट शक्तिकेन्द्र धाउँदै

काठमाडौँ । नेपाली प्राविधिक सहयोग समूह (एन्ट्याग) का पदाधिकारीहरुले भ्रष्टाचार गरेको समाचार विभिन्न सञ्चार माध्यमबाट प्रचारप्रसार हुन थालेपछि उक्त समाचारहरु रोक्न विभिन्न शक्तिकेन्द्र धाउन थालेका छन् । एन्ट्यागका कार्यक्रम निर्देशक दीपक थापाले संस्थामा व्यापक आर्थिक अनियमितता गरी संस्था नै धराशयी बनाउन लागेपछि एन्ट्याग सम्बद्ध कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बद्ध सबै निकाय गुहारी सकेका छन् ।
यसैबीच, एन्ट्यागमा भएका अनियमितताको सम्बद्धमा सूचना माग्दा कार्यालयमा बोलाएर दुव्र्यवहार गरी सूचना दिन अस्वीकार गरेपछि पत्रकार बालकृष्ण भट्टले सूचना उपलब्ध गराइदिन राष्ट्रिय सूचना आयोगमा निवेदन दर्ता गराएका छन् । पत्रकार बालकृष्ण भट्टले एन्ट्यागका पदाधिकारीले सूचना माग्दा दुव्र्यवहार गरी सूचना नदिएको भन्दै सो उजुरी गरेको बुझिएको छ । पत्रकार भट्टले यही २०७२।५।२९ गते दर्ता नं. २९२ मा सूचना आयोगमा एन्ट्यागले सूचना नदिएकाले उपलब्ध गराइदिन निवेदन दर्ता गरेका हुन् । पत्रकार बालकृष्ण भट्टले एन्ट्यागका कार्यक्रम निर्देशक दीपक थापासँग कार्यालयको ल्यापटप, मोटरसाइकल, मसलन्द र भिटामिन ‘ए’ कार्यक्रमको प्रचारप्रसार कार्यलगायतमा व्यापक आर्थिक अनियमितता भएको जानकारीमा आएको र सो सम्बन्धमा यथार्थ सूचना माग्न जाँदा दुव्र्यवहार गरिएको भन्दै पूर्ण सूचना उपलब्ध गराइदिन भन्दै राष्ट्रिय सूचना आयोगमा निवेदन दर्ता गराएका हुन् ।