बन्द र कर्फ्युले तराईको जनजीवन अस्तव्यस्त
काठमाडौं, ७ असोज । आन्दोलनरत समूहले झन्डै डेढ महिनादेखि लगातार बन्द आह्वान गर्दै आएपछि तराईका जिल्लाको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । बन्दको मार सबैभन्दा बढी सर्वसाधारणलाई परेको छ । त्यसैगरी नजिकिँदो दसैंका कारण यातायात व्यवसायीलाई समेत बन्दको मार परेको छ । विभिन्न संगठनले बन्द जारी राख्दा केही जिल्लामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले कर्फ्यु समेत जारी राखेको छ ।
वीरगन्जमा भदौ १४ गतेबाट जारी गरिएको कर्फ्यु केही खुकुलो पार्दै लगिएको छ । स्थानीय प्रशासनले बिहीबार दिनभर कर्फ्यु हटाएको छ । बुधबार राती १० बजेबाट बिहान ६ बजेसम्मको लागि लगाइएको कर्फ्यु बिहीबार राती १० बजेसम्मका लागि हटाइएको छ ।
पर्सामा लगातारको बन्द र कफ्र्यूको कारण ४१ दिनदेखि बिद्यालय ठप्प छन् । महोत्तरी सदरमुकाम जलेश्वर क्षेत्रमा भदौ २३ गतेदेखि लगाइएको कर्फ्यु अझै जारी छ ।
जलेश्वरमा बिहीबार बिहान ६ देखि १ बजेसम्मको लागि कर्फ्यु हटाइएको छ । उता, कैलालीको धनगढी र टीकापुरमा स्थानीय प्रशासनले एक महिना यता लगाउँदै आएको कर्फ्यु बिहीबार पनि जारी राखेको छ ।
धनगढीमा बिहीबार दिउँसो १ देखि ४ बजेसम्म कर्फ्यु जारी गरिएको छ भने टीकापुरमा बिहान ५ देखि १ बजेसम्म खुकुलो पारिएको छ । प्रशासनले धनगढीमा भदौ ८ गतेदेखि र टीकापुरमा भदौ ७ गतेदेखि कर्फ्यु लगाउँदै आएको छ । स्थानीय प्रशासनले कैलालीमा लगाउँदै आएको दंग्रागस्त क्षेत्र भने बुधबार रातीबाट हटाएको छ । संयुक्त मधेशी मोर्चाले साउन २९ गतेबाट र थरुहट संघर्ष समितिले साउन २६ गतेदेखि बन्द आह्वान गर्दै आएका छन् ।