तरकारीबाटै लखपति

२०७२ आश्विन १२ गते, मंगलवार

काठमाडौं, १२ असोज । सरकारी जागिर छोडेर तरकारी खेतीमा लागेका जुम्ला चन्दननाथ(१ का पूर्णप्रसाद न्यौपाने अहिले तरकारीबाटै लखपति बनेका छन् । वि. सं २०५१ मा मुखिया पदमा लोकसेवा पास गरेका उनले जुम्लामा तरकारीको अभाव र उत्पादनको सम्भावनालाई देखेर जागिरै छोडेर यो व्यवसायमा निकै चुनौतीका साथ होमिएका हुन् । २०५२ मा जिल्ला कृषि कार्यालयको प्राविधिक सहयोगमा व्यवसाय सुरु गर्नु भएका उनले सुरुका वर्षमा सामान्य उत्पादन गर्दै आएपछि पछिल्लो समय निकै राम्रो व्यावसायिक सफलता पाउदै आएका छन् । धान कोदो लगायतका अन्नबालीमा कम उत्पादन हुने र जीविकोपार्जन गर्ने कठिनाइ हुने भएकाले तरकारीमा उत्पादन तथा नगद आम्दानी बढी हुने भएकाले यो पेसामा लागेको उनले बताए । ‘जुम्लामा तरकारीको अभाव थियो, उत्पादनको सम्भावना प्रसस्त थियो ।’ उनले भने,(‘तर किसान यो खेती गर्न रुचाउँदैनथे, यो जिल्लालाई तरकारीखेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले म जोखिम मोलेर निरन्तर लागेर यो सफलता पाएँ ।’
बि.स.२०५७ सालमा तरकारीबाट एकैचोटी ३ लाख ९ हजार रुपैयाँ हातमा परेपछि तरकारी खेती गर्न जाँगर पलाएको न्यौपानेको बताए । ‘जागिरको ६ हजार तलब हुन्थ्यो, तरकारी खेतीबाट एकैपटक ६ हजार भन्दा बढी रुपैयाँ आउन थालेपछि जागिर छोडेको हुँ ।’ तरकारीबाट व्यावसायिक दौरानमा अनेकौँ चुनौतीको सामना गर्दै निरन्तर पेसाप्रति संघर्षशील न्यौपानेले आफू लखपति मात्र हैन अन्य गाउँलेलाई पनि राम्रै रोजगारी दिलाउन सफल भएका छन् । तरकारी खेतीबाट पाएको व्यावसायिक सफलतासँगै उनले जिल्लाकै उत्कृष्ट व्यवसायीको रुपमा ‘राष्टूपति कृषक पुरस्कार’ समेत जिल्लाबाट धेरै पुरस्कार पाएका छन् ।
जुम्लामा आफुँ जस्तै करिब दुई सय व्यवसायी तरकारी खेतीतर्फ लागेको उनले जानकारी दिए । उनले राधा तरकारी तथा बीउ उत्पादन उद्योगका नाममा तरकारी तथा तरकारीको बीउ उत्पादन गरी बिक्री गर्ने लक्ष्यका साथ जिल्लाकै ठूलो तरकारी फार्म समेत सञ्चालन गरेका छन् । तरकारी उत्पादन उपआयोजना अन्तर्गत उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार हिमाली आयोजनाको अनुदान सहयोगमा तरकारी फार्म विस्तार गरेका हुन् ।
कुल २६ लाख ५७ हजार २ सय ७० रुपैयाँको लागतमा ३ हेक्टर क्षेत्रफलमा व्यवसायी न्यौपानेले तरकारी खेती सञ्चालन गर्दे आएका छन् । हिमाली आयोजनाले २१ लाख २५ हजार ८ सय १६ रुपैयाँ अनुदान दिएको छ । राधा तरकारी तथा बीउ उत्पादन उद्योगमा काउली, भन्टा, फर्सी, मुला, केराउ, गाँजर, बन्दा, गोलभेँडा, प्याज आलु लगायत उत्पादन हुन्छ । मौसममा दैनिक पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म तरकारीबाट कमाई हुने गरेको छ ।
३ हेक्टर जग्गा मध्ये २ हेक्टर जग्गा लिजमा लिएको र १ हेक्टर जग्गा आफ्नै रहेको न्यौपानेले बताए । २ हेक्टर जग्गाको वार्षिक ८० हजार रुपैयाँ भाडा तिर्ने गरेका छन् । जुम्लामा तरकारी खेती गरेर व्यवसायी न्यौपानेले दुइ छोरी र एक छोरालाई नीजि विद्यालयमा पठाइ रहेका छन् । तरकारी खेतीमा गाउँका करिब ५ जनालाई रोजगारी दिनु भएको छ । मौसममा ४० जनासम्मले रोजगारी पाउने गरेका छन् ।
न्यौपानेले अघिल्लो वर्ष तरकारीबाट १८ लाख रुपैयाँ कमाएकामा सबै खर्च कटाएर रु सात लाख फाइदा भएको बताए । यस वर्ष ३२ लाख कमाउने लक्ष्य रहको छ, हाल सम्म १२ लाख रुपैया सम्मको तरकारी विक्रि भएको उनले जानकारी दिए । सहयोगी, बिउमल तयार गर्ने र खनजोतमा ६ लाख रुपैयाँ खर्च भएको न्यौपानेले बताए । अर्गानिक जिल्लाका रुपमा चिनिएको जुम्ला अहिले तरकारीमा पूर्ण आत्मनिर्भर भइसकेको छ, यहाँ व्यावसायिक तथा सामूहिक तरकारीखेती निकै फस्टाएको छ । जुम्लामा उत्पादित तरकारी मुगु, कालीकोट, सुर्खेत, नेपालगन्ज, काठमाडौँ र विराटनगर सम्म पुग्ने गरेको व्यवसायीहरुले बताएका छन् ।
न्यौपानेलाई तरकारी खेतिको लागि सेसी नेपाल हुँदै, जिल्ला कृषि विकास कार्यालय, सेसी सहकारी, वल्र्ड भिजन, हिमाली आयोजना, जिल्ला पशु सेवा कार्यालय, कृषि अनुसन्धान राजीकोट, गोठिचौर र विजयनगरले पनि सहयोग गर्दे आएका छन् । यस्तै विभिन्न बचत संस्थाहरुले आवश्यक परेको बेला रकम दिएर सहयोग गर्ने गरेको किसान न्यौपानेको भनाइ छ । राधा तरकारी तथा बिउ उत्पादन उद्योग हेर्नको लागि कृषि मन्त्री हरी पराजुली, कृषि सचिव उत्तमकुमार भट्टराई, कृषि मन्त्रालयका महानिर्देशक युवकधोज जीसी, क्षेत्रिय निर्देशक अच्युतप्रसाद ढकाल सहित १८ जना उच्च स्तरका व्यक्तिले अवलोकन गरेका छन् । अवलोकन गर्ने मन्त्री देखि सचिव र पत्रकारहरुले कर्णालीलाई स्थायित्व दिनुपर्नेमा सुझाव दिएको न्यौपानेले जानकारी दिए । कृषक पाठशालाको सिद्धान्त अनुसार जान पनि सुझाव आएको उनले बताए ।
गएको भदौ महिनामा मात्रै न्यौपानले ७० क्वीन्टल प्याज नेपालगंज र खुर्सेतका व्यापारीलाई विक्रि गर्नु भएको छ । प्रतिकेजी ४० देखि ६० रुपैयाका दरमा विक्रि गरेको उनले बताए । पहिले घरमा भएका ६ मुरी खेत विक्रि गरिसक्नु भएका न्यौपानले अहिले बेचेका खेत ल्याएर पनि १ हेक्टर जग्गा भएको स्याउ फारम किन्नु भएको छ । गाउँमा अरुले न्यौपानेको देखा सिकि गर्ने गरेका छन् ।
तलिचौर गाउँमा गत वर्ष मात्रै तरकारीबाट १ करोड रुपैया भित्रिएको छ । १ सय ३३ घरधुरी मध्ये सबै घरधुरीले तरकारी खेति गर्ने गरेका छन् । बजार नजिकै भएकोले सिजनका बेला सबैले बजारमा तरकारी विक्रिका लागि लिने गरेका छन् । तलिचौर गाउँका किसानहरुले धान, कोदो खेति छोडेर तरकारी खेति गर्ने गरेका छन् । थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि जुम्लाका कृषक तरकारी खेतीप्रति आकषिर्त हुन थालेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु