जोर विजोर प्रणालीमा कडाई
काठमाडौँ, १३ असोज । भारत सरकारले गरेको अघोषित नाकाबन्दीका कारण देशमा भइरहेको इन्धन अभावलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जोर विजोर प्रणालीलाई कडाई साथ लागू गरेको छ । इन्धन अभाव हुन थालेपछि कडाइ गर्न थालेको महानगरीय ट्राफिक महाशाखाका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिए । उनले भने , “अति आवश्यक अस्पताल, पर्यटक, विद्यालय, सञ्चार गृह, दूध, खानेपानी, खाद्यान्नलगायतका सवारी साधनबाहेक अरु साधनलाई कडा गरेका छौँ ।” ट्राफिक प्रहरीले आवश्यक कानुन नमाने कडा कारबाही गर्ने पनि जनाएको छ ।
प्रहरी उपरीक्षक पोखरेलले बाहिरी जिल्लाबाट तेल भरेर काठमाडौँ भित्रिएका सवारी साधनलाई भने कारबाही नगरिएको बताए । उनले सरकारले जोरविजोर प्रणाली लागू गरेपछि ३० प्रतिशत सवारी साधनमात्र सडकमा गुडेको स्पष्ट पारे । “एउटै पम्पमा हजारौँ सवारी साधन तेलको लाइन बसेकाले थोरै मात्र सवारी साधन गुडेका हुन्”, पोखरेलले बताए । उनले एउटै पम्पमा लामो लाइन भएकाले लाईन व्यवस्थित गर्न गाह्रो भएका कारण १५ देखि ३० जनासम्म ट्राफिक प्रहरी खटाएको पनि बताए ।