ओली दिल्लीको चाकडी गर्दैछन : प्रकाण्ड

२०७२ आश्विन १९ गते, मंगलवार

काठमाडौँ । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्न दिनहुँ दिल्लीमा दूत पठाएर भारतको चाकडी गरिरहेको आरोप लगाएका छन् । राष्ट्रिय युवा जनस्वयम सेवकको पोखरामा सोमबार दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रकाण्डले प्रधानमन्त्री बन्न ओलीले भारतसँग राष्ट्रघाति सम्झौता गर्ने ठोकुवा गरे । ‘प्रधानमन्त्री बनाईदेउ भनेर ओलीले दूत पठाएर भारतको चाकडी गरिरहेका छन,’ उनले भने ‘त्यतिमात्रै होइन, देश र जनता डुवाउने अर्को राष्ट्रघाति सम्झौता पनि गर्दैछन ।’
प्रकाण्डले अहिलेको संविधान राष्ट्रघाती, जनविरोधी भएकोले त्यसलाई नसच्याए माओवादीले लाखांै सेना तयार गरेर लडाइँमा होमिने चेतावनी दिए । ‘यो संविधान शान्ति सम्झौता बिपरित भएकोले झनै जनताको अधिकार खोसेको छ,’ उनले भने ‘बन्दुकको आडमा यही संविधान थोपर्ने दुस्प्रयास गरेमा पुरानो सत्ताधारीहरुका लागि दुर्भाग्यपूर्ण हुनेछ ।’
प्रकाण्डले सुशील कोइराला, केपी ओली र प्रचण्डले माओवादी सेनाले हतियार बुझाएर समाप्त भए भनेर सोचिरहेका बताउँदै एक करोड २० लाख युवाको सेना तयार गरेर अधुरो क्रान्ति पुरा गरेर छाड्ने चेतावनी दिए । ‘पुरानो सत्ताका शाषकहरुले ३५ हजार माओवादी सेना ठेगान लगायौं भनेर ढुक्क नभए हुन्छ,’ उनले भने ‘देश र जनताको रक्षाका लागि देशभित्र र बाहिर गएका युवा समेटेर लाखौं सेना बनाइ एकीकृत जनक्रान्तिको कार्यदिशा अघि बढाउनेछौं ।’ भारतीय नाकावन्दी, कालोबजारी, आयातमा निर्भर अर्थतन्त्रले देश खोक्रिएर कमजोर भएको बताउँदै उनले जनक्रान्तिबिना देश स्वाधीन हुन नसक्ने ठोकुवा गरे ।

प्रतिक्रियाहरु

[anycomment]