टर्कीमा तीन दिने शोकको घोषणा
काठमाडौं, २४ असोज । टर्कीमा बम बिस्फोटबाट ९५ जना मारिएपछि तीन दिने शोकको घोषणा गरिएको छ । प्रधानमन्त्री अहमत दाबुतोग्लु देश शोकमा डुबेका कारण तीन दिने शोकको घोषणा गरिएको बताए । टर्कीको राजधानी अंकरामा आयोजित शान्ति र्यालीमा श्रृंखलाबद्ध विष्फोट हुँदा मृत्यु हुनेको संख्या ९५ पुगेको हो । शहरको मध्य रेल स्टेशन नजिक भएको विष्फोटमा २ सयभन्दा बढी घाईते भएका थिए ।
पृथकतावादी कुर्दिश समूहसँग जारी संघर्ष अन्त्यको माग गर्दै आयोजित र्यालीलाई लक्षित गरी विष्फोट गराइएको हो । कुर्दिस समर्थित एचडिपी पार्टीले ‘शान्ति र प्रजातन्त्र’का लागि आह्वान गरेको र्याली शुरु हुनु अघि विष्फोट गरिएको थियो । टर्कीको इतिहासमा भएको यो नै ठूलो बिस्फोट हो । बिस्फोटले टर्कीमा आगामी तीन सातामा हुन लागेको आम निर्वाचन प्रभावित हुने संकेत देखिएको छ । घटनामा दुई जना आत्मघाती संलग्न भएको आशंका गरिएको छ ।
यसैबीच टर्कीका राष्ट्रपति रैचेप तैयप एर्दोआनले बिस्फोटलाई आतंकाबादी घटना बताउँदै तुर्कमेनिस्तिानको यात्रा रद्द गरेका छन् । – एजेन्सी